बाढीपीडितलाई मादीको मल्हम, १० लाख सहयोगको घोषणा

कास्कीको मादी गाउँपालिकाले बाढीपीडितको राहतका लागि १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

भदौ १० गते भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि गाउँपालिकाले यो रकम जुटाएको हो । गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले स्वेच्छिक रूपमा संकलन गरेको यो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने छ ।

बाढीले रसुवा, नुवाकोट, धादिङ र चितवन लगायतका जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको छ । यो दुःखद खबरले आफूहरू मर्माहत र स्तब्ध भएको गाउँपालिकाले जनाएको छ ।

बाढी प्रभावित परिवारलाई तत्काल राहत र आवश्यक सहयोग उपलब्ध गराउन १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको अध्यक्ष देवीजंग गुरुङले बताए ।

अध्यक्ष गुरुङले संकलित रकम बाढीपीडितको आवश्यकता र प्राथमिकताका आधारमा उपयोग हुने जानकारी दिए । ‘प्राकृतिक विपत्तिले पुर्‍याएको क्षतिप्रति हामी दुःखी छौँ,’ उनले भने ।

विपद्को यो कठिन समयमा प्रभावित नागरिकमा धैर्य, साहस र आत्मबल कायम रहोस् भन्ने कामना उनले गरे ।

Exit mobile version