पोखरा बसपार्कका सुकुम्बासीको सूची तयार, अर्को सातादेखि स्थानान्तरण

पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको अन्तिम विवरण सार्वजनिक भएको छ।

वडा तहको सहजीकरण समितिले दाबी–विरोध र छानबिनपछि तयार पारेको अन्तिम विवरणलाई वडा समितिले सिफारिससहित महानगरपालिकामा पठाउने निर्णय गरेको छ।

यसअघि बसपार्क क्षेत्रमा बसोबास गर्ने भूमिहीन दलित ‘बिडी’ २००, भूमिहीन सुकुम्बासी ‘बिएस’ २४८ र अव्यवस्थित बसोबासी ‘एबि’ ११६ गरी कुल ५६४ जनाले प्रारम्भिक निवेदन दिएका थिए।

वडाबाट प्रकाशित सूचनाबमोजिम दाबी–विरोध तथा संशोधनका लागि प्राप्त निवेदनमाथि छानबिन गर्दा संख्यामा केही फेरबदल आएको छ।

छानबिनपछि कायम भएको अन्तिम विवरणअनुसार भूमिहीन दलित १४४ र भूमिहीन सुकुम्बासी १८१ गरी जम्मा भूमिहीनको संख्या ३२५ पुगेको छ।

त्यस्तै, अव्यवस्थित बसोबासीको संख्या २४२ कायम भएको छ। सबै गरी बसपार्क क्षेत्रमा ५६७ परिवारको लगत संकलन भएको छ।

वडा तहको सहजीकरण समितिले दाबी–विरोधपछिको यो विवरण वडा समितिसमक्ष सिफारिस गरेको छ। सोही सिफारिसका आधारमा बसेको वडा समितिको बैठकले प्रतिवेदनलाई नियमानुसार ग्रहण गर्दै आवश्यक सिफारिससहित पोखरा महानगरपालिकामा पठाउने निर्णय गरेको छ।

अब पोखरा महानगरपालिकाको कार्यपालिकाले उक्त प्रतिवेदनमाथि आवश्यक छलफल गर्नेछ। महानगरले यसै साता जिल्ला समितिमा सिफारिस पठाउने तयारी गरेको छ।

सो प्रक्रिया सकिएसँगै अर्को सातादेखि बसपार्क क्षेत्रबाट सुकुम्बासी बस्ती स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाइने जानकारी दिइएको छ।

Scroll to Top