पोखरा–९ नयाँबजारमा रहेको पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ऋणी सदस्यहरुबाट कर्जा असुली गरी बचतकर्ताको १५ करोड १० लाख रुपैयाँ बचत फिर्ता गरेको छ ।
संस्थाले अघिल्लो आर्थिक वर्ष २०८२ साउन १ देखि २०८३ साउन मसान्तसम्मको अवधिमा उक्त रकम बचत फिर्ता तथा मिलान गरेको हो । विभिन्न ऋणी सदस्यहरुबाट कर्जा असुली गरी सोही रकमबाट बचतकर्ताको बचत फिर्ता गरिएको संस्थाका अध्यक्ष सुरेन्द्रबहादुर गोदारले जानकारी दिए ।
संस्थाको वित्तीय विवरण अनुसार २०८२ असार मसान्तसम्ममा ४१ करोड ३९ लाख रुपैयाँ बचत मौज्दात थियो । २०८३ साउन मसान्तसम्म आइपुग्दा बचत रकम घटेर २६ करोड २९ लाख रुपैयाँ बाँकी छ ।
संस्थाले बचत खातामा १ लाख रुपैयाँभन्दा कम मौज्दात रहेका सेयर सदस्यहरुलाई सम्पूर्ण रकम फिर्ता लैजान पटक–पटक सूचना जारी गरेको थियो । यसको परिणामस्वरुप हाल संस्थामा बचतकर्ताको संख्या घटेर २ सय १७ जना मात्र सीमित भएको छ ।
कर्जा लगानीतर्फ पनि संस्थाले उल्लेख्य असुली गरेको छ । २०८२ असार मसान्तको विवरण अनुसार ५४ करोड ६५ लाख रुपैयाँ कर्जा लगानी भएकोमा २०८३ साउन मसान्तसम्म १८ करोड ८९ लाख रुपैयाँ असुली भएको छ । हाल संस्थाको कुल कर्जा लगानी ३५ करोड ६७ लाख रुपैयाँ मात्र रहेको छ ।
कर्जा प्रवाह गर्दा धितो सुरक्षणका रुपमा राखिएका करिब १२ करोड रुपैयाँ बराबरको गैर बैंकिङ सम्पत्ति संस्थाको स्वामित्वमा रहेको छ । आगामी दिनमा आवश्यकता अनुसार ती चल–अचल सम्पत्तिहरु इच्छुक बचतकर्ता वा अन्य व्यक्तिलाई बिक्री गरी बाँकी बचत फिर्ता तथा मिलान गर्ने योजना संस्थाले बनाएको छ ।
संस्थाले आफ्नो बाह्य ऋण भारमा समेत उल्लेख्य कटौती गरेको छ । आर्थिक वर्ष २०८२/०८३ मा ६ करोड ९३ लाख रुपैयाँ बाह्य कर्जा सापटी रहेकोमा हाल सो रकम ३ करोड ४० लाख रुपैयाँमा खुम्चिएको छ । केही समयअघि सहकारी क्षेत्रमा देखिएको वित्तीय तरलताका कारण उत्पन्न असहज परिस्थितिलाई चिर्न संस्थाले कर्जा असुलीमा विशेष जोड दिएको थियो ।
यस प्रक्रियामा नियामक निकाय, स्थानीय प्रशासनका साथै अधिकार सम्पन्न विशेष समितिका संयोजक गञ्जमान गुरुङ र सल्लाहकार किरण श्रेष्ठले सहयोग गरेको संस्थाले जनाएको छ ।
संस्थाले यही २०८३ भदौ २० गते २७औं वार्षिक साधारण सभा आयोजना गर्ने तयारी गरेको छ । ‘चालु आर्थिक वर्ष २०८३/०८४ को अन्त्यसम्ममा बचतकर्ताको माग बमोजिम बचत व्यवस्थापन गरी नियमित कारोबार गर्ने योजना छ,’ अध्यक्ष गोदारले भने ।
२०६२ वैशाख १२ गते स्थापना भएको यस सहकारीको कार्यक्षेत्र कास्की जिल्लाभर रहेको छ । हाल संस्थामा ६ सय ८० जना सेयर सदस्य आबद्ध रहेको जानकारी सचिव दिलबहादुर केसीले दिएका छन् ।







