गण्डकी प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्यद्वयले पदक वितरणमा गम्भीर त्रुटि र लापरवाही भएको भन्दै त्यसको जिम्मेवारी आफूहरुले नलिने बताएका छन् ।
परिषदका कार्यकारी सदस्यद्वय भेनिस थापा र कञ्चन थापा कोइरालाले आज एक संयुक्त विज्ञप्ती जारी गर्दै पदक वितरणको निर्णय र कार्यान्वयनमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् ।
पदक वितरणका विषयमा छानबिन समितिले प्रतिवेदन बुझाएपछि सदस्यद्वयले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
छानबिन समितिले पदक वितरणमा गम्भीर त्रुटि, लापरवाही तथा प्रक्रियागत कमजोरी भएको निष्कर्ष निकालेको छ ।
‘पदक खेलाडीको मेहनत, प्रदेश र राष्ट्रको गौरवसँग जोडिएको विषय भएकाले यसको वितरण विधि, प्रक्रिया, मापदण्ड र संस्थागत निर्णयअनुरूप हुनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ’ सदस्य भेनिसले भनेका छन् ।
उनीहरुले बैठकमा उपस्थितिको लागि मात्र हस्ताक्षर गरेको तर पदक सम्बन्धी निर्णयमा हस्ताक्षर नगरेको दाबी गरे । उपस्थितिको हस्ताक्षरलाई निर्णयमा प्रयोग गरी सहमति रहेको देखाउनु तथ्यसम्मत नभएको उनीहरुले बताए ।
त्यस्तै, कञ्चनले भनेकी छिन् ‘हाम्रो जानकारी वा सहमतिबिना भएका निर्णयको जिम्मेवारी हामीमाथि थोपर्न मिल्दैन र हामी नलिने पनि स्पष्ट पार्न चाहन्छौं ।’
विज्ञप्तीमा सम्बन्धित कार्यविधि, मापदण्ड र प्रक्रियाबमोजिम सिफारिसबिनै भएको निर्णय वा कार्यान्वयनको सम्पूर्ण जिम्मेवारी निर्णय गर्ने र कार्यान्वयन गर्ने पदाधिकारीले नै लिनुपर्ने उल्लेख छ ।
सदस्यद्वयले छानबिन प्रतिवेदनका आधारमा सत्यतथ्य निष्पक्ष रूपमा परीक्षण गरी दोषीलाई कानूनबमोजिम कारबाही र निर्दोषलाई दोषारोपणबाट मुक्त गर्न सरकारसँग आग्रह गरे ।
आवश्यक परेमा आफ्नो असहमति, कागजात तथा तथ्य प्रमाण सम्बन्धित निकायमा प्रस्तुत गर्न तयार रहेको समेत उनीहरुले जनाएका छन् ।
गण्डकी प्रदेश खेलकुद परिषद्ले गत असार ३० गते प्रदान गरेको ‘प्रदेश खेलकुद पदक’ विवादित बनेपछि सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले पदक छनोट प्रक्रियाबारे छानबिन गर्न समिति गठन गरेको थियो ।







