नेवारी भाषा संरक्षणमा डुम्रे सांस्कृतिक युवा परिवारको महत्वपूर्ण पहल

तनहुँ । नेवारी भाषा, कला, संस्कृति र मौलिक पहिचानलाई नयाँ पुस्तासम्म पुस्तान्तरण गर्ने उद्देश्यले डुम्रे सांस्कृतिक युवा परिवारले सञ्चालन गरेको एक महिने निःशुल्क नेवारी भाषा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

नेवारी भाषा तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित प्रशिक्षणमा सहभागीलाई भाषा, कला, संस्कृति र परम्पराको महत्वबारे जानकारी दिइएको थियो । कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो मौलिक भाषा र संस्कृतिसँग जोड्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन ।

कार्यक्रमका प्रमुख अतिथि अशोकमान पालिखेले नेवारी भाषा, कला र संस्कृतिको आफ्नै मौलिक पहिचान रहेको बताउँदै यसको संरक्षणका लागि सबैको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गरे । नयाँ पुस्तालाई आफ्नो भाषा, कला र संस्कृतिसँग जोड्न यस्ता कार्यक्रम प्रभावकारी हुने उनको भनाइ थियो ।

कार्यक्रमका अध्यक्ष शम्भु श्रेष्ठले डुम्रे सांस्कृतिक युवा परिवारले भाषा, कला तथा संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । पुस्तौँदेखि चलिआएको भाषा, परम्परा र संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रमका सहसंयोजक तथा झिगु नेवा पुचका अध्यक्ष सुनिल श्रेष्ठले नेवारी भाषा र संस्कृतिको संरक्षणसँगै भदौमा हुने लाखे प्रदर्शनीले समुदायमा सांस्कृतिक एकता र मौलिक पहिचानलाई थप मजबुत बनाउने बताए ।

कार्यक्रममा उपाध्यक्ष शिवकुमार श्रेष्ठले स्वागत मन्तव्य र सचिव सुरज खनालले कार्यक्रम सञ्चालन गरेको थियो ।

सो अवसरमा नेवारी भाषा तथा संस्कृतिको संरक्षणमा योगदान पुर्‍याउँदै आएका लाखे संरक्षक चिजकुमार श्रेष्ठ तथा प्रशिक्षक किसान प्रधानलाई सम्मान गरिएको थियो ।

डुम्रे सांस्कृतिक युवा परिवारले भाषा, कला, संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षण गर्दै नयाँ पुस्तालाई आफ्नो सांस्कृतिक सम्पदासँग जोड्ने यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।

Scroll to Top