सहारा फुटबल एकेडेमीको सहयोगार्थ पोखरामा शनिबार च्यारिटी हाइकिङ आयोजना गरिएको छ ।
‘समर हाइकिङ फर च्यारिटी–२०८३’ नाम दिइएको हाइकिङ (पदयात्रा)मा २ सय १५ जनाको सहभागिता रहेको क्लबले जनाएको छ ।
हाइकिङबाट अनुमानित ५ लाख रुपैयाँ संकलन भएको आयोजक सहाराको प्रारम्भिक अनुमान छ ।
पदयात्रा पोखराको महेन्द्रपुलबाट सुरु भएको थियो । सहभागीहरु रानीपौवा र चापापानीचोक हुँदै पर्यटकीय क्षेत्र काहुँडाँडा पुगेका थिए । पदयात्राको उद्घाटन पोखरा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले रिबन काटेर गरे ।
काहुँडाँडामा आयोजित समापन कार्यक्रममा बोल्दै मर्सानीले सहारा क्लबको सामाजिक सेवामा सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । उनले भने, ‘कठिन परिस्थिति र विपन्न परिवारका बालकलाई सहयोग गर्न यो कार्यक्रम गरिएको हो ।’ वडा कार्यालयले पनि यसका लागि सहयोग गरेको उनले जानकारी दिए ।
सूर्यबहादुर केसी मेमोरियल स्मृति सहारा एकेडेमीमा अहिले १६ जिल्लाका ३० जना बालक छन् । उनीहरुले त्यहाँ फुटबल प्रशिक्षण र उच्च शिक्षा लिइरहेका छन् ।
सहभागीहरुको पसिनाबाट संकलन भएको रकम एकेडेमीको खर्च व्यवस्थापनमा उपयोग हुने मर्सानीले बताए । स्वास्थ्य, पर्यटन र सामाजिक सेवाको सन्देश दिन यो कार्यक्रम सफल भएको उनको भनाइ छ ।
हाइकिङमा सहभागी हुन प्रतिव्यक्ति १ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको थियो । सहभागीलाई सो रकममा टिसर्ट, खाजा र खाना उपलब्ध गराइएको थियो । संकलित सबै रकम एकेडेमीको हितमा प्रयोग हुने क्लबले जनाएको छ ।
कार्यक्रममा मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन र बुद्ध एयरका पोखरा स्टेशन म्यानेजर गौतम बराल सहभागी थिए । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, विभिन्न वडाका वडाध्यक्ष र जनप्रतिनिधिहरु पनि कार्यक्रममा पुगेका थिए ।
लुम्बिनी विकास बैंक न्युरोड शाखाका प्रमुख महेन्द्र श्रेष्ठ र लेकसाइड शाखाका प्रमुख प्रकाश पहारीको पनि उपस्थिति थियो । एन्फा कास्की, जिल्ला खेलकुद विकास समिति कास्की र कालिका माध्यमिक विद्यालयका प्रतिनिधिहरु पनि पदयात्रामा सामेल भए ।
हाइकर्स क्लब नेपाल, सहारा क्लबका पूर्वअध्यक्ष, सल्लाहकार र एकेडेमीका बालकहरुले पनि हाइकिङ गरे । कार्यक्रम संयोजक पूर्णबहादुर गुरुङले सहभागी सबैलाई धन्यवाद दिए ।
यस अभियानलाई सफल बनाउन विभिन्न व्यक्ति र संस्थाले आर्थिक सहयोग गरेका छन् । पोखरा महानगरपालिका नम्बर ९, तमु धीं युके र कास्की जिल्ला फुटबल संघ (एन्फा)ले सहयोग गरेका थिए ।







