नेपाल प्रहरी श्रीमती संघको ४२ औँ वार्षिकोत्सवको अवसरमा नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश, पोखराको आयोजनामा महिला प्रहरी कर्मचारी तथा प्रहरी कर्मचारीका परिवारलाई लक्षित गरी स्तन क्यान्सर तथा स्त्री रोग सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
गण्डकी प्रदेश प्रहरी अस्पताल, पोखराको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा महिलामा हुने स्तन तथा पाठेघरको क्यान्सर लगायतका स्त्री रोग सम्बन्धी स्वास्थ्य परीक्षण तथा आवश्यक स्वास्थ्य परामर्श प्रदान गरिएको थियो ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायब महानिरीक्षक दिपेन्द्र जीसीको प्रमुख आतिथ्यतामा सम्पन्न स्वास्थ्य शिविरमा नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराकी अध्यक्ष श्रीमती संगिता थापा क्षेत्री,महिला क्यान्सर रोग विशेषज्ञ डा. बानिरा कार्की, श्री सैनिक अस्पताल पोखराकी महासेनानी डा.रोजी मल्ललगायको सहयोग रहेको थियो ।
शिविरमा महिला प्रहरी कर्मचारीहरु र प्रहरीका परिवार गरी जम्मा १९५ जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।
