बाढी र पहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग आज बिहानैदेखि अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएका हुन् ।
गएरातिदेखि परेको अविरल वर्षाका कारण बागलुङ नगरपालिका–१३ स्थित कालाखोला बगरमा पहिरो खसेपछि कालीगण्डकी करिडोर बिहानैदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।
त्यस्तै, मध्यपहाडी लोकमार्गअन्तर्गत बुर्तिवाङ–निसीखोला खण्डको निसीखोला गाउँपालिका–४ कानाबजार नजिक ठाडाखोलामा बाढी आएपछि सडक अवरुद्ध भएको उनले बताए ।
दुवै राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय, मध्यपहाडी लोकमार्ग आयोजना र कालीगण्डकी करिडोर कार्यालयसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध भएपछि यात्रुहरू बाटोमै अलपत्र परेका छन्। सडक खुलाउन आवश्यक प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
