गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभाको बैठकमा सांसदहरूसँग आफ्नो भाषा र शैली रुखो हुन पुगेको स्वीकार गर्दै माफी मागेका छन् ।
मनसुनजन्य विपद् व्यवस्थापनका विषयमा भइरहेको छलफलका क्रममा सांसदहरूसँग चर्काचर्की परेपछि मन्त्री गुरुङले रोष्ट्रमबाटै क्षमा याचना गरेका हुन् ।
बैठकमा निर्मला पन्त हत्याकाण्डको प्रसङ्गमा गृहमन्त्री गुरुङले आक्रोशित हुँदै ‘मलाई निर्मला पन्तको विषयमा प्रश्न नगर्नुस्’ भन्दै रोष्ट्रमबाटै चेतावनीपूर्ण शैलीमा जवाफ दिएका थिए । मन्त्रीको उक्त रुखो शैली र संसदीय मर्यादा विपरीतको अभिव्यक्तिको सदनमा आलोचना भएपछि उनले तत्कालै गल्ती महसुस गरेका हुन् ।
आफ्नो अभिव्यक्तिप्रति प्रश्न उठेपछि पुनः सम्बोधन गर्दै गृहमन्त्री गुरुङले भने, ‘हजुरहरूबाट हामीले धेरै सिक्न बाँकी छ, सिक्दै जानेछौँ । मेरो तर्फबाट अलिकति ठाडो तरिकाबाट भयो जस्तो लाग्यो । यसका लागि म क्षमाप्रार्थी छु र हजुरहरूसँग माफी माग्न चाहन्छु ।’
उनले आफू नयाँ भएको र अनुभवी सांसदहरूबाट सिक्ने क्रममै रहेको भन्दै आफ्नो शैलीलाई स्वाभाविक रूपमा लिइदिन आग्रह समेत गरे ।
माफी मागे लगत्तै मन्त्री गुरुङले विपद् व्यवस्थापनको गम्भीर छलफलमा अन्य राजनीतिक मुद्दा मिसाइएकोमा भने आफ्नो असन्तुष्टि कायमै राखे ।







