‘दीगो जीवनको स्वस्थ सुरुवात, …’ नारासहित विश्व स्तनपान सप्ताह जारी

नेपाल पेडियाट्रिक सोसाइटी (नेपास)को आयोजनामा साउन १६ देखि २२ गतेसम्म ‘विश्व स्तनपान सप्ताह २०८३’ मनाइँदै छ । यस वर्ष ‘दिगो जीवनको स्वस्थ सुरुवात: प्रभावकारी स्तनपानको लागि सबैको साथ’ भन्ने मुख्य नाराका साथ यो सप्ताह मनाइँदै छ ।

जन्मेको पहिलो एक घण्टाभित्र आमाको पहिलो दूध (बिगौती दूध) खुवाउनु र पहिलो ६ महिनासम्म आमाको दूध मात्र (पूर्ण स्तनपान) गराउनु शिशुको जीवनको उत्कृष्ट सुरुवात हो। यसले शिशुको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र कुपोषण तथा सङ्क्रमणबाट जोगाउँछ।

आमाको दूध शिशुको पहिलो खोप सरह हो। यसले पखाला र निमोनिया जस्ता रोगहरूबाट बचाउँछ। शिशुलाई चाहिने सम्पूर्ण पोषण यसबाट पाइन्छ। मस्तिष्कको विकास राम्रो हुन्छ।

त्यस्तै, सुत्केरी पछि हुने अत्यधिक रक्तस्राव कम हुन्छ। स्तन र पाठेघरको क्यान्सरको जोखिमसमेत घट्छ।

स्वस्थ मानिस र स्वस्थ पृथ्वीको सुरुवात स्तनपानबाटै हुने भएकाले प्रमाणित उपायहरू अपनाएर प्रत्येक परिवारलाई सहयोग गर्न सोसाइटीले आह्वान गरेको छ ।

प्रभावकारी स्तनपानका लागि शिशुमैत्री स्वास्थ्य प्रणाली, स्तनपानमैत्री नीति तथा कार्यस्थल र सामुदायिक पारस्परिक सहयोग अनिवार्य रहेको नेपासले जनाएको छ ।

स्तनपान किन महत्त्वपूर्ण छ भन्ने विषयमा जानकारी दिँदै सोसाइटीले यसका वातावरणीय, आर्थिक, सामाजिक र जैविक आधारहरू प्रस्तुत गरेको छ ।

वातावरणीय संरक्षण र दिगोपनाका लागि आमाको दूध प्राकृतिक, नवीकरणीय तथा वातावरणमैत्री पोषणको स्रोत रहेको र यसका लागि कुनै प्याकेजिङ आवश्यक नपर्ने उनीहरूले बताए । स्तनपानबाट फोहोर उत्पादन नहुने, वातावरण प्रदुषित नहुने र कुनै पनि कार्बन उत्सर्जन नहुने उल्लेख छ ।
आर्थिक तथा सामाजिक समानताका लागि स्तनपान किफायती र सहज रूपमा स्थानीयस्तरमै उपलब्ध हुने पोषण हो । यसले गरिबी एवं स्वास्थ्यमा हुने असमानतालाई न्यूनीकरण गर्न मद्दत गर्ने सोसाइटीको दाबी छ ।

जैविक आधारका रूपमा आमाको दूधले प्रतिरक्षा प्रणालीका लागि ‘एन्टिबडीज’ तथा अत्यावश्यक पोषक तत्वहरू प्रदान गर्ने बताइएको छ ।

यसले जीवनभरका लागि रोग प्रतिरोधात्मक क्षमता र स्वस्थ पाचन प्रणालीको विकास गर्दै दीर्घकालीन रोगहरूको जोखिम कम गर्ने जानकारी सोसाइटीले दिएको छ ।

प्रभावकारी अभ्यासलाई सुदृढ बनाउन शिशुमैत्री अस्पतालको पहल एवं विस्तार गर्दै नवजात शिशु र आमाबीच प्रत्यक्ष छालाको स्पर्श गराउने अभ्यासलाई प्रवद्र्धन गर्नुपर्नेमा विज्ञप्तिमा जोड दिइएको छ ।

त्यसैगरी, शिशु स्याहारका लागि सवेतन अभिभावकीय बिदा र कार्यस्थलमा स्तनपानसम्बन्धी अधिकारको प्रभावकारी कार्यान्वयन एवं संरक्षण सुनिश्चित गर्नुपर्ने उनीहरूले बताए ।

सामुदायिक पारस्परिक सहयोगअन्तर्गत स्तनपान परामर्शदाता, सहकर्मी सहयोग सञ्जाल तथा सामुदायिक स्वास्थ्य सेवाको सुदृढीकरणका लागि पर्याप्त लगानी गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

व्यावसायिक गतिविधिको नियमन गर्न अन्तर्राष्ट्रिय आचारसंहिताको पूर्ण पालना गर्दै प्रत्येक परिवारलाई अनैतिक बजारीकरणको मारबाट जोगाउनुपर्ने सोसाइटीले जनाएको छ ।

‘स्तनपानलाई समर्थन गर्नु नै स्वस्थ बालबालिका, बलियो परिवार र दिगो पृथ्वीको निर्माण गर्नु हो’ भन्ने सन्देशका साथ यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

Exit mobile version