पोखरामा ट्राफिक नियम उल्लंघन गर्ने ६ वटा स्कुल बस कारबाहीमा परेका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले सोमबार बिहान गरेको विशेष चेकजाँचका क्रममा ती बसहरूलाई कारबाही गरिएको हो। सवारी नियम उल्लंघन विरुद्धको कारबाहीलाई प्रभावकारी बनाउन यो अभियान सुरु गरिएको हो।
ट्राफिक व्यवस्थापन चुस्त राख्न र सम्भावित सवारी दुर्घटना न्यूनीकरण गर्ने ट्राफिक प्रहरीको मुख्य उद्देश्य छ। प्रहरीले स्कुलका सवारी साधनलाई लक्षित गरी चेकजाँच कडा पारेको छ।
नियम विपरीत सञ्चालन भएका प्रगति एजुकेशन फाउण्डेशनका ४ वटा बस कारबाहीमा परेका छन्। त्यस्तै विन्ध्यवासिनी माध्यमिक विद्यालयको १ र पोखरा एकेडेमीको १ वटा बसलाई पनि कारबाही गरिएको छ।
ट्राफिक प्रहरीले मातहतका कार्यालय समेतबाट टोली खटाएर यो विशेष जाँच गरेको हो। ‘सडक सुरक्षा र विद्यार्थीको यात्रालाई सुरक्षित बनाउन हामीले स्कुल बसहरूमा कडा निगरानी राखेका छौं,’ ट्राफिक प्रहरीले जनाएको छ।
आगामी दिनमा पनि नियम मिच्ने सवारी साधनमाथि निगरानी र कारबाही जारी रहने प्रहरीको भनाइ छ।







