पोखरामा सञ्चारकर्मीका लागि ‘सञ्चारमा क्वान्टम हिलिङ’ विषयक अभिमुखीकरण भएको छ ।
सञ्चारिका समूह नेपाल गण्डकी र ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय जरेबरले संयुक्त रूपमा यो कार्यक्रम गरेका हुन् । सञ्चार क्षेत्रमा बढ्दो मानसिक तनाव कम गर्न र सकारात्मक सोच विकास गर्न तालिम आयोजना गरिएको हो । शनिबार आयोजित प्रशिक्षणमा पोखराका सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता थियो ।
प्रमुख प्रशिक्षक ब्रह्माकुमार विजयराज सिग्देलले पत्रकारहरूले दैनिक रूपमा उच्च कार्यचाप झेल्नुपर्ने बताए । यसका लागि मानसिक सन्तुलन र मेडिटेसनलाई जीवनशैलीको हिस्सा बनाउन उनले सुझाव दिए । वेलनेस हिलिङले आत्मबल र निर्णय क्षमता बढाउने उनको तर्क छ ।
यसले जिम्मेवार सञ्चार प्रवाहमा समेत ठूलो सहयोग पुग्ने उनले उल्लेख गरे । पत्रकारको मानसिक र आत्मिक स्वास्थ्य सुदृढ हुनु समाजकै लागि लाभदायक हुने उनले बताए ।
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय जरेबरकी सञ्चालिका पूनम दिदीले सञ्चारकर्मीहरू समाजका संवाहक भएको बताइन् ।
उनीहरूको भावनात्मक स्वास्थ्यलाई ध्यानमा राखेर यस्तो सहकार्य गरिएको उनको भनाइ छ । आगामी दिनमा पनि सञ्चारिका समूहसँग मिलेर यस्ता रचनात्मक काम गर्ने उनले प्रतिबद्धता जनाइन् ।
सञ्चारिका समूह गण्डकीकी अध्यक्ष राधिका कँडेलले पत्रकारको मानसिक स्वास्थ्यलाई प्राथमिकता दिएर कार्यक्रम गरिएको बताइन् ।







