पोखराको छिनेडाँडाबाट खैरो हिरोइन र नगदसहित २ पक्राउ

कास्की प्रहरीले पोखराबाट २३ ग्रामभन्दा बढी खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । साउन १२ गते बेलुका साढे ५ बजेको समयमा पोखरा महानगरपालिका वडा नम्बर १४ छिनेडाँडाबाट उनीहरू पक्राउ परेका हुन् ।

लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेका हुन् ।

पक्राउ पर्नेहरूमा भोजपुरको ट्याम्के गाउँपालिका वडा नम्बर ६ घर भई हाल पोखरा-१४ शुभकामना टोल बस्ने ३३ वर्षका मनोज कुमार मग्राती र म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ५ घर भई हाल पोखरा-१० मिलनटोल बस्ने ३७ वर्षका विश्वास पुन रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट प्लास्टिकसहित तौल गर्दा २३ ग्राम ९३ मिलिग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ बरामद गरेको छ ।

यसका साथै उनीहरूको साथबाट २ लाख ८१ हजार ५ सय रुपैयाँ नगद र ४ थान मोबाइल समेत बरामद भएको प्रहरीले जनाएको छ । बरामद भएका मोबाइलहरूमा पोको र सामसुङ लगायतका ब्रान्ड रहेका छन् ।

पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी लागूऔषध सम्बन्धी कसूरमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वीरेन्द्र कुमार पासवानले बताए ।

Scroll to Top