१ अर्ब ८९ करोड अवैध हुण्डी कारोबारको आरोपमा राजेन्द्र पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीले )ठूलो परिमाणको अवैध हुण्डी कारोबारमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ जिल्लाको सत्यदेवी–८ घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका–८ बस्ने ४९ वर्षीय राजेन्द्र प्रसाद रिजाल रहेका छन् ।

ब्यूरोका अनुसार रिजालले अन्य व्यक्तिहरूको नाममा रहेका व्यक्तिगत बैंक खाताहरू प्रयोग गरी १ अर्ब ८९ करोड ६५ लाख ३९ हजार ४५४ रुपैयाँ बराबरको हुण्डी कारोबार गरेको देखिएको छ ।

शङ्कास्पद व्यक्तिहरूको बैंकिङ कारोबार विश्लेषण गर्ने क्रममा रिजालको मिलेमतोमा यति ठूलो रकमको अवैध कारोबार भएको पुष्टि भएपछि उनलाई नियन्त्रणमा लिइएको हो ।

काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई ब्यूरोको टोलीले उनलाई २०८३ साउन १२ गते नागार्जुन नगरपालिका–८ स्थित राधाकृष्ण मन्दिर क्षेत्रबाट पक्राउ गरेको थियो ।

पक्राउ परेका रिजालमाथि हुण्डी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले जानकारी दिएका छन् ।

Exit mobile version