स्वतन्त्र विद्यार्थी युनियन, पृथ्वीनारायण क्याम्पसको समन्वय र गण्डकी मेडिकल कलेजको सहयोगमा निशूल्क ‘डेन्टल क्याम्प ओरल स्क्रिनिङ’ कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसमा आयोजित सो शिविरबाट ३०० भन्दा बढी विद्यार्थीले लाभ लिएका छन् ।
विद्यार्थीहरूको स्वास्थ्य र उज्ज्वल भविष्यप्रति सजग रहँदै सामाजिक उत्तरदायित्व र मानवीय सेवाभावका लागि क्याम्पसले गण्डकी मेडिकल कलेज परिवारप्रति हृदयदेखि नै हार्दिक आभार व्यक्त गरेको छ ।
पृथ्वीनारायण क्याम्पसमा आयोजित दन्त शिविरलाई सफल बनाउन अस्पतालबाट विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्पूर्ण व्यवस्थापन टोली खटिएका थिए ।
उनीहरूको अथक सहयोगले सयौँ विद्यार्थी, शिक्षक तथा कर्मचारीले गुणस्तरीय दन्त परीक्षण र आवश्यक स्वास्थ्य परामर्श प्राप्त गर्ने अवसर पाएका हुन् ।
यो सेवा केवल उपचारमा मात्र सीमित नभई स्वास्थ्यप्रति सचेतना जगाउने प्रेरणादायी अभियान पनि बनेको क्याम्पसले जनाएको छ ।
‘समाजप्रति उत्तरदायी संस्थाका रूपमा गण्डकी मेडिकल कलेजले निर्वाह गरेको यो मानवीय योगदान वास्तवमै अनुकरणीय र प्रशंसनीय छ’, क्याम्पसले भनेको छ, ‘तपाईंहरूको निस्वार्थ सेवा, समर्पण र सहकार्यले विद्यार्थी समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको छ ।’
भविष्यमा पनि यस्ता जनहितकारी तथा स्वास्थ्य प्रवर्द्धनका कार्यक्रमहरूमा निरन्तर सहकार्य रहने विश्वासका साथ गण्डकी मेडिकल कलेज परिवारका सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी तथा व्यवस्थापन टोलीप्रति क्याम्पसले पुनः हार्दिक धन्यवाद र उच्च सम्मान व्यक्त गरेको छ ।








