राष्ट्रिय परिचयपत्र सेवा थप व्यवस्थित, टोकन प्रणाली लागू

जिल्ला प्रशासन कार्यालय, कास्कीले राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवालाई थप व्यवस्थित बनाएको जनाएको छ।

कार्यालयले सूचना जारी गर्दै साउन ६ गतेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा विस्तार गरिएको र सेवाग्राहीको सहजताका लागि टोकन प्रणाली लागू गरिएको जानकारी दिएको हो।

कार्यालयका अनुसार नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि विभिन्न सरकारी सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै लगेपछि सेवाग्राहीको चाप बढेको छ।

यही अवस्थालाई मध्यनजर गर्दै सार्वजनिक बिदाबाहेक कार्यालय खुल्ने प्रत्येक दिन बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सञ्चालन गरिएको छ।

त्यस्तै, सेवा लिन आउने नागरिकका लागि कार्यालय खुल्ने दिन बिहान ७ः४५ बजेदेखि टोकन वितरण गरिनेछ। टोकनमा उल्लेख गरिएको समयमा उपस्थित भई सेवाग्राहीले सेवा लिन सक्ने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ।

कार्यालयले यसअघि राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गरिसकेका नागरिकले पुनः विवरण दर्ता गर्न आवश्यक नरहेको स्पष्ट पारेको छ। विवरण दर्ता गर्दा प्राप्त भएको कागजातमा राष्ट्रिय परिचयपत्र नम्बर उल्लेख भएकाले आवश्यक पर्दा सोही नम्बर प्रयोग गर्न सकिने जनाइएको छ।

जिल्ला प्रशासन कार्यालय, कास्कीका अनुसार यसअघि कार्यालयमा प्राप्त भएका सबै राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिलाई वितरण गरिसकिएको छ र हाल वितरण गर्न बाँकी कुनै पनि परिचयपत्र छैन।

यसैगरी, फोटो खिचाई बायोमेट्रिक विवरण दिइसकेका सेवाग्राहीको राष्ट्रिय परिचयपत्र कार्यालयमा प्राप्त भएपछि दर्ताका क्रममा उल्लेख गरिएको मोबाइल नम्बरमा एसएमएस पठाइने व्यवस्था गरिएको छ। एसएमएस प्राप्त भएपछि मात्र सम्बन्धित कार्यालयमा गई परिचयपत्र लिन कार्यालयले आग्रह गरेको छ।

मोबाइलमा एसएमएस नआएसम्म वा कार्यालयबाट आधिकारिक सूचना नआएसम्म राष्ट्रिय परिचयपत्र लिन कार्यालयमा उपस्थित नहुन तथा अनावश्यक भीड नगर्न जिल्ला प्रशासन कार्यालय, कास्कीले सर्वसाधारणसँग अनुरोध गरेको छ।

Scroll to Top