आदिकवि भानुभक्त र खड्गको सालिक तोडफोड गर्ने रोशन पक्राउ, ५ दिनको म्याद थप

 लम्जुङको मध्यनेपाल नगरपालिका वडा नम्बर ४ दुईपिप्ले बगैँचास्थित भानु घाँसी संवाद पार्कभित्र रहेका आदिकवि भानुभक्त आचार्य र खड्ग बहादुर ठाडा मगरको सालिक तोडफोड गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका वडा नम्बर ७ स्थायी वतन भएका ३४ वर्षीय रोशन कुँवर रहेका छन्।

विसं २०८१ साउन ७ गते राति अन्दाजी १०:३० बजेको समयमा रिस्ती खोलापुल नजिकै रहेको पार्कभित्र अज्ञात व्यक्तिहरूले सालिक तोडफोड गरी क्षति पुर्‍याएका थिए।

उक्त घटनाको अनुसन्धानका क्रममा इलाका प्रहरी कार्यालय भोलेंटारका प्रहरी निरीक्षक ध्रुव प्रसाद शर्माको कमान्डमा खटिएको टोलीले कुँवरलाई साउन ८ गते पक्राउ गरेको हो।

पक्राउ परेका कुँवरलाई जिल्ला प्रहरी कार्यालय लम्जुङमा ल्याई जिल्ला अदालतबाट ‘आपराधिक उपद्रव’ मुद्दामा ५ दिनको म्याद लिएर थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धानका क्रममा सालिकमा क्षति पुर्‍याउने कार्यमा संलग्न देखिएपछि उनलाई नियन्त्रणमा लिइएको सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर क्षेत्रीले जानकारी दिए।

साउन ७ गते राति भएको उक्त घटनामा आदिकवि भानुभक्त र उनलाई रामायण लेख्न प्रेरणा दिने घाँसी खड्ग बहादुर ठाडा मगरको सालिकमा क्षति पुर्‍याइएको थियो। प्रहरीले यस घटनामा अन्य व्यक्तिहरूको संलग्नताबारे पनि अनुसन्धान गरिरहेको बताएको छ।


Scroll to Top