पोखरा महानगरपालिका नम्बर २६ विजयपुरमा अवैध रूपमा प्राकृतिक दोहन (माटो उत्खनन) गरिरहेको अवस्थामा प्रहरीले चारवटा सवारी साधन नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले साउन ७ गते दिउँसो ती सवारी साधन नियन्त्रणमा लिएको हो।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले अन्दाजी दिउँसो २:३० बजेको समयमा माटो लोड गर्दै गरेको अवस्थामा १ वटा जेसिबी र ३ वटा टिप्पर नियन्त्रणमा लिएको थियो।
ती सवारी साधनलाई आवश्यक कारबाहीका लागि पोखरा महानगरपालिकाको कार्यालयमा पठाइएकोमा ७५ हजार रुपैयाँ जरिवाना गरी छाडिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
नियन्त्रणमा लिइएका सवारी साधनहरूमा ग १ क ३७८८ नम्बरको स्काभेटर, ग १ ख ७७६६ नम्बरको टिप्पर, बा १ क ८१७७ नम्बरको टिप्पर र लु १ ख २९२० नम्बरको टिप्पर रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वीरेन्द्र कुमार पासवानका अनुसार अवैध रूपमा प्राकृतिक स्रोतको दोहन भइरहेको सूचनाका आधारमा ती साधन नियन्त्रणमा लिइएको हो।
कास्की प्रहरीले पछिल्लो समय प्राकृतिक स्रोतको अवैध उत्खनन र दोहन गर्ने कार्यमा संलग्नहरूमाथि निगरानी बढाउँदै आएको छ।







