बेरोजगार हो ? बाँदर धपाउने जागिर खुल्यो, यस्तो चाहिन्छ योग्यता

पहाडी र मध्य पहाडी क्षेत्रमा बालीनाली बाँदरले सखाप पारेपछि बन्ध्याकरण गर्ने कि नियन्त्रणका अरू उपाय छन् भनेर बहस उठिरहेका बेला जिल्ला वन कार्यालय अर्घाखाँचीले वन हेरालु मागेको छ ।

२० जना वन हेरालुलाई जनही १२ हजार ५०० का दरले तलबसमेत दिने गरी दरखास्त मागेको हो । संख्या थपघट हुनसक्ने वन कार्यालयले जनाएको छ ।

वन कार्यालयले बाँदर रूग्ने जागिर खुलाएपछि सामाजिक सञ्जालमा अर्को बहस सिर्जना भएको छ । कतिपयले यसलाई मजाकको विषयसमेत बनाएको पाइएपछि सूचना अधिकारी केशव खड्काले बाँदरले अर्घाखाँचीलाई आजित बनाएको र नियन्त्रणमा कुनै उपाय नलागेको बताए ।

‘अर्घाखाँची बाँदरको समस्याबाट आक्रान्त छ । यहाँको ६१ वटा वडा नै प्रताडित छ । अहिले मकै थन्क्याउने बेला भएको छ । तर किसानले भित्र्याउन पाए पो । हुलका हुल बाँदर पसेर सखाप पारेपछि उपाय निकालेका हौं,’ उनले भनेका छन् ।

उनका अनुसार स्थानीय तह, वन उपभोक्ता समिति, प्रभावित क्षेत्रका बासिन्दाहरूको सुझावको आधारमा हेरालु खोजिएको हो ।

‘यहाँ रातिराति चितुवा, बँदेलको आतंक छ । दिउँसो बाँदरले अनाज सखाप बनाउँछ । मुखमुख आएको बाली बाँदरले ध्वस्त बनाएपछि किसान के गर्ने भनेर बिलखबन्दमा छन्,’ उनले भने ।

वन सम्बर्द्धन प्रणालीमा आधारित रहेर वन व्यवस्थापन गरेका समूहको लागत साझेदारीमा हेरालु खोजिएको हो ।

साउन १० गतेदेखि अगामी असोज १० गतेसम्म दुई महिनाका लागि हेरालु नियुक्त गर्न लागिएको उनले बताए ।

‘सम्बन्धित बाँदर प्रभावित क्षेत्रकै स्थायी बासिन्दा हुनुपर्ने, उमेर ४५ वर्ष ननाघेको हुनुपर्ने । वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा रुचि भएको हुनुपर्ने । सामुदायिक वन उपभोक्ता समूह, वन हेरालु, नर्सरी हेरालु, नाइके हेरालु वा सोही प्रकृतिको कार्यमा अनुभव प्राप्त व्यक्तिलाई प्राथमिकता दिइने आदि योग्यताक्रम निर्धारण गरिएको छ ।

उनीहरूले बाँदरको नियमित निगरानी गर्ने, कृषकलाई समयमै सूचना दिने तथा आवश्यक समन्वय गर्ने आदि काम गर्नुपर्ने छ ।

यसका अतिरिक्त बाँदरबाट भएको बाली क्षतिको अभिलेख राखी सम्बन्धित वडा तथा कार्यालयमा जानकारी गराउने,बाँदरलाई मानवीय तथा वातावरणमैत्री तरिकाले खेतीयोग्य क्षेत्रबाट प्राकृतिक वासस्थानतर्फ धपाउने काम गर्नुपर्ने छ ।

Scroll to Top