भिटोफ गण्डकीमा रमेश अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति

गाउँ पर्यटन प्रवद्र्धन मञ्च गण्डकी प्रदेशको पाँचौं अधिवेशन एवम् एघारौं वार्षिक साधारणसभाले रमेश अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

समितिको प्रथम उपाध्यक्षमा विश्वराज अधिकारी, द्वितीय उपाध्यक्षमा चिन्तामणि पोखरेल, सचिवमा भीमराज पौडेल, कोषाध्यक्षमा विमला अधिकारी सापकोटा र सह कोषाध्यक्षमा शरण गुरुङ रहेका छन् ।

त्यस्तै समितिका सदस्यहरूमा मुना कोइराला, भावना रानाभाट, राजु परियार, प्रभात अधिकारी र जीवन सापकोटा निर्वाचित भएका छन् ।

यस अघि अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले गाउँ पर्यटनको विकासका माध्यमबाट ग्रामिण अर्थतन्त्रको विकास गर्न सकिने बताइन् ।

गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशका अध्यक्ष शोभा सापकोटाले हरेक गाउँ पर्यटकीय ठाउँ भन्ने नाराका साथ भिटोफ गण्डकी विभिन्न पर्यटकीय गाउँको प्रवद्र्धन र विकासमा लागेको धारणा राखिन् ।

भिटोफ गण्डकीका संस्थापक अध्यक्ष एवम् पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले गाउँलाई शहरसँग र शहरलाई गाउँसँग पर्यटकीय रुपमा जोड्ने लक्ष्यका साथ संस्था स्थापना भएको बताए ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले भिटोफसँगको सहकार्यमा गाउँ पर्यटन मार्टदेखि पर्यटन प्रवद्र्धन र विकासका विभिन्न कार्यक्रम गरिएको जानकारी दिए ।

Scroll to Top