जिल्ला प्रशासन कार्यालय कास्कीले राष्ट्रिय परिचयपत्र वितरण तथा विवरण दर्ताको सेवा समय विस्तार गरेको छ।
कार्यालयमा पछिल्लो समय सेवाग्राहीको अत्यधिक चाप बढेपछि आगामी साउन ६ गतेदेखि लागू हुने गरी बिहान ८ बजेबाटै सेवा सुरु गर्न लागिएको हो।
राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रदान गर्न प्रयोग हुने सफ्टवेयर अपग्रेड हुने क्रममा रहेकोले केही समयदेखि सेवा प्रवाहमा ढिलाइ (स्लो) हुने समस्या देखिएको कार्यालयले जनाएको छ।
सफ्टवेयरमा समस्या आउँदा विगतमा भन्दा बढी समय लाग्ने गरेको र कास्कीसहित अन्य जिल्लाबाट अध्ययन वा पेसा व्यवसायका लागि यहाँ रहेका नागरिकको नयाँ आर्थिक वर्षसँगै चाप बढेकाले समय विस्तार गरिएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जारी गरेको सूचना अनुसार सार्वजनिक बिदाका दिन बाहेक अन्य कार्यालय खुल्ने हरेक दिन बिहान ०८:०० बजेबाटै सेवा सुचारु हुने छ। सेवाग्राहीलाई आफ्नो अनुकूलता अनुसार सेवा लिन कार्यालयले आग्रह गरेको छ।
कतिपय सेवाग्राहीले विवरण दर्ता गराइसकेपछि पनि पुनः दर्ताका लागि आउने गरेको र परिचयपत्र आए/नआएको यकिन नगरी आउँदा अनावश्यक भिड बढेको कार्यालयले उल्लेख गरे।
‘विगतमा विवरण दर्ता गरिसकेका नागरिकले पुनः विवरण दर्ता गर्नु पर्दैन। फोटो खिचेर बायोमेट्रिक दिइसकेका सेवाग्राहीको परिचयपत्र कार्यालयमा प्राप्त भएपछि मोबाइलमा म्यासेज आउने छ,’ सूचनामा भनिएको छ, ‘मोबाइलमा म्यासेज प्राप्त भएपश्चात् मात्र परिचयपत्र लिन आउनु हुन अनुरोध छ।’
कार्यालयले आधिकारिक सूचना बिना अनावश्यक भिड नगर्न र आफ्नो पालो र सूचना अनुसार मात्र कार्यालय आउन सर्वसाधारणमा अनुरोध गरे। विगतमा विवरण दर्ता नगरेका वा बायोमेट्रिक नदिएका सेवाग्राहीको सहजताका लागि यो समय विस्तार गरिएको उनले बताए।
