गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आर्थिक वर्ष २०८३/८४ को बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका विषयमा मन्त्री तथा मन्त्रालयका सचिवहरुसँग छलफल गरेका छन् ।
मुख्यमन्त्रीले बजेट तथा कार्यक्रम कार्यान्वयन प्रक्रिया समयमै अगाडि बढाउन आवश्यक मापदण्ड, कार्यविधि तथा निर्देशिकाहरु तत्काल तयार गर्न निर्देशन दिए ।
छलफलका क्रममा मन्त्रालय मातहतका कार्यालयहरुको जनशक्ति अवस्था तथा व्यवस्थापनका विषयलाई शीघ्र टुंग्याउने र गत आर्थिक वर्षको वार्षिक समीक्षा छिटो सम्पन्न गर्ने विषयमा जोड दिइएको छ ।
योजना कार्यान्वयनका क्रममा देखिएका जटिलता र समस्याहरुको पहिचान गर्दै समाधानमुखी कार्ययोजना तयार गर्नुपर्नेमा मुख्यमन्त्रीले विशेष जोड दिएका छन् ।
त्यसैगरी, मन्त्रालयहरुबीचको समन्वयलाई थप प्रभावकारी बनाउँदै विकास निर्माण, सेवा प्रवाह र बजेट खर्चलाई परिणाममुखी बनाउने विषयमा समेत महत्वपूर्ण छलफल भएको छ ।
आजको छलफलले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमलाई समयमै, प्रभावकारी र उपलब्धिमूलक रुपमा कार्यान्वयन गर्न थप स्पष्टता र सहजीकरण गर्ने विश्वास लिइएको छ ।







