देवघाटबाट हराएकी सन्तोषीको शव भारतमा भेटियो, परिवारद्वारा सांकेतिक अन्त्येष्टी

वलपुरको गैंडाकोट नगरपालिका वडा नम्बर २ की २८ वर्षीया सन्तोषी श्रेष्ठको शव भारतीय भूमिमा फेला परेको छ । असार १४ गते साँझदेखि सम्पर्कविहीन भएकी श्रेष्ठको शव नारायणी नदीले बगाएर भारतीय क्षेत्रमा पुर्‍याएको अवस्थामा फेला परेको हो ।

श्रेष्ठ असार १४ गते साँझ ८:०० बजे आफ्नो बा प्र ०६–००१ प १४९९ नम्बरको स्कुटर लिएर घरबाट निस्किएकी थिइन् । त्यसपछि उनी परिवारको सम्पर्कमा थिइनन् । खोजी गर्ने क्रममा उनको स्कुटर तनहुँ र चितवनको सिमानामा पर्ने पवित्र धार्मिक स्थल देवघाटको हनुमानचोकमा बेवारिसे अवस्थामा फेला परेको थियो ।

स्कुटर देवघाटमा भेटिएपछि प्रहरी र स्थानीयले नदी आसपास र सम्भावित क्षेत्रमा खोजी कार्यलाई तीव्र बनाएका थिए ।

पारिवारिक स्रोत र सुरक्षा निकायका अनुसार असार १७ गते नै त्रिवेणीभन्दा पारि भारतीय क्षेत्रमा एक महिलाको शव फेला परेको थियो । पहिचान नखुलेका कारण भारतीय सुरक्षाकर्मीले कानुनी प्रक्रिया पूरा गरी शवको व्यवस्थापन (डिस्पोज) गरिसकेका थिए ।

तर भारतीय प्रहरीले प्रमाणका रूपमा सुरक्षित राखेका शवको फोटो र भिडियो नेपालमा रहेका आफन्तलाई उपलब्ध गराएपछि उक्त शव सन्तोषीकै भएको पुष्टि भयो ।

फोटो र भिडियोका अतिरिक्त सन्तोषीले हराएको दिन लगाएको कुर्ता, विन्डप्रुफ ज्याकेट र हातको औंठीसमेत भारतीय प्रहरीले आफन्तलाई बुझाएको छ । प्राप्त सामान र भिजुअलका आधारमा परिवारले उनको पहिचान सुनिश्चित गरे ।

भौतिक शरीर भारतीय क्षेत्रमै विसर्जन भइसकेको भए तापनि धार्मिक एवं पारिवारिक परम्पराअनुसार शुक्रबार देवघाट धाममा उनको विधिवत् अन्त्येष्टि र उत्तरक्रियाका प्रक्रियाहरू सुरु गरिएको छ ।

मृतकको कपाल, कुश वा उपलब्ध स्मृति चिह्नलाई प्रतीक मानी हिन्दू संस्कारअनुसार देवघाटमा अन्त्येष्टिका प्रक्रियाहरू सम्पन्न गरिएको पारिवारिक स्रोतले जनाएको छ । ।

Exit mobile version