पञ्चरत्न र मेयरबीच जुहारीः पेट्रोल पम्प हटाउन नदिने अडानबीच मिडिया ट्रायलको आरोप

पोखरा बसपार्क निर्माणार्थ त्यहाँ रहेका अतिक्रमित संरचना हटाइएपछि अब पूर्व र दक्षिण भेगमा रहेका सुकुम्बासी र अव्यवस्थित बस्ती खाली गर्न बाँकी छ ।

उनीहरुलाई हटाइनु अघि व्यवस्थापन गर्नुपर्ने आवाज उठेसँगै पोखरा महानगरपालिकाले विभिन्न समितिमार्फत अध्ययन र व्यवस्थापनमा जुटेको छ । यसर्थ, अहिलेको टड्कारो समस्याकारुपमा उत्तरतर्फ अवस्थित पञ्चरत्न आयल स्टोर्स रहेको छ ।

उक्त आयल स्टोर्स ५० वर्षअघि स्थापना भएको हो । हालका सञ्चालक देवेन्द्र कायस्थका अनुसार गोपालप्रसाद तझ्याले ५ दशक अघि सञ्चालनमा ल्याएका हुन् ।

महानगरपालिकाले पम्प हटाउन निर्देशन दिएपछि कायस्थले कानूनी र वैधानिकरुपमा सञ्चालन गर्दै आएको बताउँदै कुनैपनि हालतम ढल्न नदिने बताएका छन् ।

‘५० वर्षभन्दा लामो गौरवमय इतिहास बोकेको पञ्चरत्न आयल स्टोर्स केवल एउटा व्यवसाय मात्र होइन, हाम्रो पहिचान हो’ कायस्थ भन्छन् ‘कानुनी र वैधानिक रूपमा सञ्चालनमा रहेको यो ऐतिहासिक धरोहरलाई म कुनै पनि हालतमा ढल्न दिने छैन ।’

उनले पम्प हटाउन खोजिए त्यसको विरुद्ध न्याय र सत्यको लडाई लड्ने समेत जनाएका छन् ।

कायस्थको प्रतिक्रियापछि मेयर धनराज आचार्यले सामाजिक सञ्जालमार्फत निष्पक्ष न्यायिक निरूपणका लागि छानबिन समिति गठन भई काम गरिरहेको बताउँदै यसबीच कुनैपनि प्रतिक्रिया दिन आवश्यक नरहेको बताए ।

‘समितिले आफ्नो अन्तिम प्रतिवेदन तथा निष्कर्ष प्रस्तुत नगरेसम्म ‘मेरो लालपुर्जा यति हो’ वा ‘मेरो अधिकार यही हो’ भन्ने सार्वजनिक दाबी गर्नु उपयुक्त हुँदैन’ आचार्यले भनेका छन् ।

‘जहाँसम्म बसपार्कभित्र रहेको पेट्रोल पम्पको विषय छ, सोही क्षेत्रमा रहेका करिब ६०० व्यवसायीहरूले अत्यन्त कठिन परिस्थितिमा पनि सार्वजनिक हितका लागि आफ्नो स्थान छाडेर व्यवस्थापन प्रक्रियामा सहयोग गर्नुभएको छ’ आचार्य भन्छन् ‘यस्तो अवस्थामा एउटा मात्र व्यवसायलाई विशेषाधिकार दिनुपर्छ वा दिनैपर्छ भन्ने तर्क न्यायोचित मान्न सकिँदैन।’

छानबिन प्रक्रिया सम्पन्न भएपछि प्रतिवेदनले ठहर गरेबमोजिम नै निर्णय हुने भन्दै उनले त्यसपश्चात गरिने निर्णय कुनै एक पेट्रोल पम्पका लागि मात्र नभई, सम्बन्धित सबै लालपुर्जा भएका वा दाबी गर्ने पक्षहरूका हकमा समान कानुनी मापदण्डका आधारमा लागू गरिने जनाएका छन् ।

यसर्थ, तथ्य र कानुनी प्रक्रिया पूरा नहुँदै अनावश्यक मिडिया ट्रायल नगर्न तथा नगराउन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछु मेयर आचार्यको भनाई छ ।

Exit mobile version