जब पत्रकार बञ्जाराले मुटु उपचारार्थ हेलिकप्टरबाट काठमाण्डौं गएको सुनाए …

२ दिनअघि पोखरामा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र यहाँका डाक्टरसामु पत्रकार यदुनाथ बञ्जाराले मुटुको आपतकालीन उपचारकालागि हेलिकप्टरबाट काठमाण्डौं धाउन परेको सुनाएपछि उपस्थित सबै भावुक बने ।

बञ्जाराले ०८१ पुस ८ गते आफ्नो लागि अविस्मरणीय दिन रहेको र काललाई जितेर काठमाण्डौंबाट फर्केको मात्रै हैन हेलिकप्टरमा अपर्झट जाँदा भाडावापत ४ लाख २० हजार रुपैयाँ तिर्नुपरेको समेत सुनाए ।

त्यसअघि उनले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा कोमामा राखेर उपचार गरिए पनि उपचार सम्भव नहुने देखिएपछि हेलिकप्टर मार्फत काठमाण्डौ गएको बताएका थिए ।

उनले योे भोगाई त्यतिबेला सुनाएका थिए जतिबेला सरोकारवालाहरु पोखरामा मुटुसम्बन्धी विशिष्टिकृत अस्पताल निर्माण गर्ने सोंचकासाथ एउटै थलोमा जुटेका थिए ।

अझ गत कात्र्तिकमा कास्कीको सिक्लेस घुम्न जाने क्रममा पोखराका पर्यटन व्यवसायी चित्रबहादुर भट्टराईलाई हार्ट अट्याक भयो । समयमा उनले उपचार पाउन सकेन्न र मृत्यु भयो ।

यि त उदाहरण मात्र हुन, यि र यस्ता समस्या धेरै छन् । यही समस्या समाधान गर्न हेल्दी हार्ट नेपाल र स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशले पोखरामा सरोकारवालाहरुलाई राखेर गण्डकी हार्ट मिट २०२६ सम्पन्न भएको छ ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री, स्वास्थ्य मन्त्री, प्रतिनिधि सभाका सदस्य, प्रदेश सभाका सदस्य, पोखराका मेयर, विभिन्न दलका नेताहरु, नीतिनिर्माता, चिकित्सक, प्राध्यापक, अनुसन्धानकर्ता, विकास साझेदार तथा समुदायका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमका सहभागीबीच अनुभव आदानप्रदान, चुनौतीहरुको समीक्षा, प्रदेशमा मुटु इन्टरभेन्सन सेवाको वर्तमान अवस्था र भावी दिशा, समग्र मुटु शल्यचिकित्सा कार्यक्रम, प्रदेशभरि हृदय स्वास्थ्य सेवाहरुलाई अझ प्रभावकारी र सुदृढ बनाउने लगायतका विविध विषयमा विज्ञहरुको प्रस्तुतिसँगै छलफल भएको थियो ।

मिटमा पत्रकार बञ्जराले पोखरामै उपचार नहुदा हेलिकप्टर भाडा सगै काठमाण्डौ बसाईका कारण उपचार महङ्गो पर्न गएको बताए ।

पोखरामा उपचारको सुविधा भै दिएको भए आफनो खर्च आधा जोगिने थियो भन्दै उनले मुटु रोगका विरामीका लागि विशिष्टिकृत उपचार सेवा पोखरामै आवश्यक रहेकाले स्थापनाका लागि अब ढिलाई गर्न नहुनेमा जोड दिएका थिए ।

मृतक भट्टराईका भाई गणेश बहादुरले दाजुको एक्कासी मृत्यु हुँदा आफु घर आएर निशब्द र स्तब्ध भएको बताए । एक्कासी समस्या देखियो, समयमा अस्पताल पुरयाउन नसक्दा भएको मृत्युका कारण मृत्यु अघि दाजुसंग के कुराकानी भएको थियो भनेर घरमा आएर सुनाउने केही कुरा नभएको उनले बताए ।

उनले पोखरामा नेपालीका लागि मात्र नभएर घुम्नका लागि आउने विदेशी पर्यटकले समेत मुटुको उपचारका लागि के छ अवस्था भनेर सोध्ने गरेको भन्दै पोखरामा विशिष्टिकृत उपचार सेवा संचालन हुन सके आउने पर्यटकको संख्यामा समेत बृद्धि हुने धारणा राखेका थिए ।

सबैका लागि एउटै साझा दृष्टिकोण भन्ने नारा सहित मनमोहन कार्डियो भास्कुलर एण्ड थोरासिक सेन्टर (त्रिवि शिक्षण अस्पताल, काठमाडौं) का वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सूर्य देवकोटाको पहल र अगुवाईमा कार्यक्रम सम्पन्न भएको हो ।

गण्डकी प्रदेशका नागरिकका लागि मुटुरोगको रोकथाम, प्रारम्भिक पहिचान, उपचार तथा दीर्घकालीन मुटु हेरचाह प्रणालीलाई सुदृढ बनाउने उद्धेश्यका साथ कार्यक्रम आयोजना गरिएको डा देवकोटाको भनाई छ ।

हृदय तथा रक्तनलीसम्बन्धी (कार्डियोभास्कुलर) रोगहरु नेपालमा बिरामीपन, अशक्तता तथा अकाल मृत्युका प्रमुख कारणहरुमध्ये एक रहेको उनले बताए । यसबाट बच्नका लागि नियमित स्वास्थ्य परीक्षण, स्वस्थ जीवनशैली, समयमै निदान र सहज उपचार सेवा आवश्यक रहेको उनले बताए ।

मुख्यमन्त्री पाण्डेले बढ्दो समस्या समाधानका लागि विशिष्टिकृत मुटुरोग उपचार केन्द्र स्थापनाका लागि प्रदेश सरकारले काम गरिरहेको बताए ।

कार्यक्रमले प्रदेशका नागरिकका लागि मुटुरोगको रोकथाम, प्रारम्भिक पहिचान, उपचार तथा दीर्घकालीन मुटु हेरचाह प्रणालीलाई सुदृढ बनाउने काममा सहयोग गर्ने भनाई मुख्यमन्त्रीको रहेको थियो ।

कार्यक्रमको अन्त्यमा ‘गण्डकी प्रदेशमा मुटुरोगको रोकथाम र उपचार’ विषयमा उच्चस्तरीय प्यानल छलफल गरिएको थियो ।

छलफलमा प्रतिनिधिसभा सदस्य उत्तम पौडेल, प्रदेशसभा सदस्य प्रकाश बराल, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका सचिव डा. युवानिधि बसौला, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. मनोज कोइराला, मणिपाल अस्पतालका नारायण पौडेल सहभागि थिए ।

गण्डकी प्रदेशमा गुणस्तरीय मुटु उपचार सेवाको पहुँच विस्तार, रोकथाम, प्रारम्भिक निदान, प्रभावकारी रेफरल प्रणाली तथा पुनस्र्थापन सेवाको सुदृढीकरणमा जोड दिने भन्दै दुई बुँदे न्युनतम साझा प्रतिवद्धता जारी गरेको स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका सचिव डा. युवानिधि बसौलाले जानकारी दिए ।

हाल गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मणिपाल शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेज र चरक मेमोरियल अस्पतालमा क्याथ ल्याव सहितको मुटु रोगको उपचार सेवा उपलब्ध भएपनि सम्पुर्ण उपचार सेवा भने उपलब्ध छैनन् ।

(नेपालका चर्चित मुटुरोग विशेषज्ञ डाक्टर चन्द्रमणि पौडेल र सर्जन अनिल भट्टराईसँग पत्रकार यदुनाथ बञ्जारा बायाँतर्फ ।)

Scroll to Top