स्पेन र बेल्जियम फिफा विश्वकप २०२६ को सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गर्ने उद्देश्यका साथ लस एन्जलसमा आमनेसामने हुँदैछन् ।
अपराजित रहँदै क्वार्टरफाइनल पुगेका यी दुई टोलीबिचको खेल राति पौने एक बजेबाट सुरु हुनेछ ।
राउन्ड अफ ३२ मा अष्ट्रियालाई ३–० को सहज जित निकालेको स्पेनले राउन्ड अफ १६ मा पोर्चुगलमाथि १–० को कठिन जित दर्ता गरेको थियो ।
प्रशिक्षक रुडी गर्सियाको टोली बेल्जियमले समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्न सकेको थिएन । त्यसपछि अन्तिम ३२ को खेलमा सेनेगलविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै अतिरिक्त समयमा ३–२ को जित दर्ता गर्यो ।
सेनेगलविरुद्ध २–० ले पछि परेको बेल्जियमले उत्कृष्ट पुनरागमन गर्दै ३–२ को जित निकालेको थियो । त्यसलगत्तै मंगलबार भएको अन्तिम १६ को खेलमा बेल्जियमले सह–आयोजक अमेरिकालाई ४–१ को फराकिलो अन्तरले पाखा लगायो ।
अप्टा सुपरकम्प्युटरले स्पेनलाई निर्धारित ९० मिनेटभित्र जित्ने सम्भावना ५९.३ प्रतिशत रहेको जनाएको छ। बेल्जियमको जित्ने सम्भावना १८.३ प्रतिशत रहेको छ भने खेल अतिरिक्त समयमा पुग्ने सम्भावना २२.४ प्रतिशत रहेको अनुमान गरिएको छ।







