त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ ।
उनले आत्मदाहको प्रयास गरेपछि गम्भीर घाइते भएकाबेला नेपाल जेन-जी फ्रन्टकी संयोजक रक्षा बमले नेपाली गत भदौको जेनजी आन्दोलनमा समेत सहभागी भएको उल्लेख गरेकी छिन् ।
बमले मुगुका गणेश नेपालीको आन्दोलनका क्रममा हातमा सामान्य चोटसमेत लागेको उल्लेख गरेकी छिन् ।
बमले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘गणेश नेपाली जेनजी आन्दोलनमा सहभागी थिए। आन्दोलनका क्रममा उनको हातमा सामान्य चोट पनि लागेको रहेछ। उनी त्यही आन्दोलनकारी हुन्, जो आफू बाँच्न लायक देश होस् भनेर त्यो दिन सडकमा ओर्लिएका थिए। आज त्यही संघर्षका कारण तिमीहरू सत्ता र शक्तिमा छौ, तर उ तिमीहरूको शासनमा अस्पतालको शय्यामा मृत्यु र जीवनबिच जुँधिरहेको छ।’
उनले नेपालीको स्वास्थ्य लाभको कामना गर्दै थप भनेकी छन्, ‘दुईतिहाइको मातले जे पनि गर्न सकिन्छ भनेर तिमीहरूले भुइँतहका मानिसहरूमाथि त्रासमाथि त्रास थोपर्दै आइरहेका छौ। ट्राफिक नियम उल्लंघन गर्दा हजारौँरलाखौँ जरिवाना तिर्नुपर्ने व्यवस्था तिमीहरूले आफ्नै आर्थिक हैसियतअनुसार ल्याउँदै छौ। तर तिमीहरूलाई याद रहोस्, यो देश एक हजार रुपैयाँ जरिवाना तिर्न नसकेर आत्मदाह गर्न बाध्य हुने मानिसहरूको देश हो। देश बनाउँछु भन्दै आएकाहरूले सुरुमा त देश बुझ्नुपर्ने देखियो।’
यसअघि प्रधानमन्त्री बालेन्द्र शाहलाई सम्बोधन गर्दै बमले लेखेकी थिइन्, ‘प्रधानमन्त्रीज्यू, तपाईं कुन ज्ञानको यति धेरै घमण्ड गर्नुहुन्छरु तपाईं ज्ञानबाट हुने क्रान्तिको कुरा गर्नुहुन्छ, संस्कृतका श्लोकहरूमा कुरा गर्नुहुन्छ। तर फेसबुकमा संस्कृतका श्लोक लेख्दैमा कोही ज्ञानी हुने भए, आज संसार नै ज्ञानीहरूले भरिएको हुन्थ्यो। ती श्लोकहरूलाई व्यवहारमा पनि उतार्नुस्। तिनले हामीलाई संवेदनशील हुन, करुणामय हुन र पीडामा परेकाहरूको साथ दिन सिकाएका छन्।’
उनले अगाडि भनेकी छन्, ‘आज तपाईंको ज्ञानले सुकुम्बासीहरूको गाँस र बास खोसेको छ। श्रम गरेर खाने वर्गको बाँच्ने आधार खोसेको छ। यस्तो ज्ञानको पनि के काम, जसले एउटा भोको मानिसलाई खाना दिनबाट रोक्छ, तिर्खाएको मानिसलाई पानी दिनबाट रोक्छ र अन्ततः एउटा मानिसलाई बाँच्नबाट रोक्छरु ढिलो नहुँदै तपाईंभित्रको मान्छे जागोस्।’
यद्यपि, गणेशको आज दिउँसो सवा ११ बजे उपचारकैक्रममा निधन भइसकेको छ ।







