पृथ्वीचोकमा सुविधा सम्पन्न आधुनिक बसपार्क निर्माण गर्ने पोखरा महानगरपालिकाको योजना क्रमबद्ध रूपमा अगाडि बढेको छ ।
बसपार्क क्षेत्रमा बसोबास गरिरहेका सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूले पेस गरेका कागजातहरूको अध्ययन तथा छानबिन गर्न गठित समितिले आफ्नो विस्तृत प्रतिवेदन महानगरलाई बुझाएको छ ।
समितिले प्रतिवेदन बुझाएपनि त्यसमा के उल्लेख गरिएको छ, वा सुकुम्बासी व्यवस्थापनबारे कस्ता सुझाव छन् भन्ने बारे सार्वजनिक भने गरिएको छैन ।
समितिका संयोजक तथा पोखरा महानगरपालिकाका प्रशासन महाशाखा प्रमुख कृष्ण प्रसाद तिवारीले महानगर प्रमुख धनराज आचार्यसमक्ष ६२७ पृष्ठ लामो प्रतिवेदन बुझाएका हुन् ।
प्रतिवेदन बुझ्दै महानगर प्रमुख आचार्यले उक्त प्रतिवेदनलाई महानगरपालिकाले महत्त्वपूर्ण दस्ताबेजका रूपमा ग्रहण गरेको उल्लेख गरे । उनले आवश्यक अध्ययन तथा विश्लेषणपछि उपयुक्त समयमा प्रतिवेदन सार्वजनिक गरिने जानकारी दिए ।
आधुनिक बसपार्क निर्माणलाई व्यवस्थित, पारदर्शी र कानुनी प्रक्रियाअनुसार अगाडि बढाउने प्रतिबद्धता सहित नगर प्रमुख आचार्यले सुकुम्वासीहरूको उचित व्यवस्थापन गरिने बताएका छन् ।







