गण्डकी प्रदेश सरकारले ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गरेका प्रदेशभित्रका पर्वतारोहीहरूलाई सम्मान गरेको छ । यसअघि सम्मान हुन बाँकी रहेका ६ जना साहसी आरोहीहरूलाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्मान गरे ।
सम्मानित हुने आरोहीहरूमा गोरखा चुमनुब्री गाउँपालिका–१ का नाहसल छ्योङ्टेन लामा (सगरमाथा, मनासलु, लोत्से), पर्वत कुश्मा नगरपालिका–१४ का किरण बहादुर पिसी (सगरमाथा), कास्की माछापुच्छ्रे गाउँपालिका–४ का किशोर अधिकारी (सगरमाथा), पर्वत बिहादी गाउँपालिका–४ का देवी प्रसाद न्यौपाने (सगरमाथा), तनहुँ ऋषिङ गाउँपालिका–२ का अमित थापा (कञ्चनजंघा) र तनहुँ ऋषिङ गाउँपालिका–५ का नवराज राना (अन्नपूर्ण) रहेका छन् ।
सो अवसरमा मुख्यमन्त्री पाण्डेले हिमाल नेपालको प्राकृतिक सम्पदा मात्र नभई पहिचान, सभ्यता, संस्कृति र पर्यटनको प्रमुख आधार रहेको बताए । ‘विश्वले योग, ध्यान र वेलनेसप्रति बढ्दो आकर्षण देखाइरहेका बेला गण्डकीका हिमाली क्षेत्रलाई साहसिक पर्यटनसँगै आध्यात्मिक तथा वेलनेस पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा विकास गर्ने हाम्रो लक्ष्य छ,’ उनले भने ।
अहिले पर्यटनको अफ सिजन मानिने समयमा पनि पोखरा लगायत गण्डकीका पर्यटकीय गन्तव्यहरू पर्यटकले भरिनुलाई उनले सुखद संकेतका रूपमा लिएका छन् । हिमाल, ताल, स्वच्छ हावापानी र अनुपम प्राकृतिक सौन्दर्यलाई अझ व्यवस्थित गर्दै दिगो पर्यटनमार्फत समृद्ध गण्डकी निर्माणमा प्रदेश सरकार निरन्तर लागिरहने प्रतिवद्धता उनले व्यक्त गरे ।
सम्मानित पर्वतारोहीहरूलाई बधाई दिँदै मुख्यमन्त्री पाण्डेले भने, ‘तपाईंहरूको साहस र समर्पणले नयाँ पुस्तालाई प्रेरणा दिइरहोस् ।’







