जिल्ला प्रशासन कार्यालय कास्कीले उपभोक्ताको स्वास्थ्य र सुरक्षालाई मध्यनजर गर्दै बजार स्वच्छता कायम गर्न विभिन्न निर्देशनहरु जारी गरेको छ।
प्रशासनले ‘स्वच्छ बजार, स्वस्थ उपभोक्ता, समृद्ध समाज’ भन्ने नाराका साथ सम्पूर्ण व्यवसायी, विक्रेता र सरोकारवालालाई ती निर्देशन पालना गर्न अनुरोध गरेको हो।
गृह मन्त्रालय अन्तर्गतको जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै बजारमा हुन सक्ने ठगी, मिसावट र कालोबजारी नियन्त्रणका लागि सक्रियता देखाएको हो।
प्रशासनले जारी गरेको निर्देशनमा बजार स्वच्छता कायम गर्न व्यवसायीले आफ्नो पसल तथा आसपासको क्षेत्र सधैं सफा राख्नुपर्ने उल्लेख छ।
त्यसैगरी, फोहोरमैला तोकिएको स्थानमा मात्र व्यवस्थापन गर्न र प्लास्टिकको अत्यधिक प्रयोग नगरेर वातावरण सफा राख्न सहयोग गर्न समेत आग्रह गरेको छ।
प्रशासनले बजारमा पारदर्शिता कायम गर्न मूल्य सूचीलाई अनिवार्य गरेको छ। सूचना अनुसार प्रत्येक पसलमा वस्तु तथा सेवाको मूल्य सूची स्पष्ट रुपमा राख्नुपर्नेछ। उपभोक्तालाई मूल्यको जानकारी दिएर पारदर्शी कारोबार गर्न प्रशासनले निर्देशन दिएको छ।
खाद्य सामग्री, औषधि, कस्मेटिक तथा अन्य वस्तुहरुको कारोबार गर्दा अनिवार्य रुपमा ‘ब्याच नम्बर’ उल्लेख भएको हुनुपर्ने व्यवस्था गरिएको छ। ‘ब्याच नम्बर’ नभएका, म्याद गुज्रिएका वा नक्कली सामग्रीको बिक्री वितरण गर्नु गैरकानुनी हुने र त्यस्तो गरेको पाइएमा कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।
उपभोक्ता अधिकारको सम्मान गर्दै ठगी, मिसावट र कालोबजारी नगर्न पनि प्रशासनले सचेत गराए। व्यवसायीले नापतौल तथा गुणस्तर मापदण्डको पूर्ण पालना गर्नुपर्ने र सेवामा पारदर्शिता देखाउनुपर्ने सूचनामा उल्लेख छ।
बजारमा कुनै गुनासो वा उजुरी भएमा तुरुन्त नजिकको प्रशासन वा सम्बन्धित निकायमा जानकारी दिन समेत अनुरोध गरिएको छ।
प्रशासनले ‘स्वच्छ बजार अभियान’मा सबैको साथ र सहयोग जुटाउन आग्रह गर्दै थप जानकारीका लागि ९८५६०२४५०१ मा सम्पर्क गर्न सकिने जनाएको छ।







