‘पद र पैसाको राजनीतिमा अल्झियौँ’: प्रचण्ड

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै पार्टी नेतृत्वले रणनीतिक राजनीतिक लक्ष्यबाट विचलित हुँदै सत्ता, पद र प्रतिष्ठामुखी राजनीतिमा अल्झिएको स्वीकार गरेका छन् । उनले नेतृत्वको कमजोरीकै कारण पार्टीको वैचारिक आधार कमजोर बन्दै गएको र जनविश्वास गुमेको बताएका छन् ।

पोखरामा आज आयोजित पार्टी भेलालाई सम्बोधन गर्दै प्रचण्डले शान्ति प्रक्रिया र संविधान निर्माण ऐतिहासिक उपलब्धि भए पनि त्यसपछि पार्टीले दीर्घकालीन रणनीति छाडेर तत्कालीन सत्ता राजनीतिलाई नै केन्द्रमा राखेको बताए ।

उनका अनुसार चुनाव जित्ने, सरकार बनाउने, मन्त्री र प्रधानमन्त्री बन्ने प्रतिस्पर्धामै पार्टी सीमित हुँदा मूल राजनीतिक उद्देश्य ओझेलमा परेको हो ।

प्रचण्डले नेतृत्वले पटक–पटक सत्ता समीकरण फेरबदल गर्दै कहिले नेपाली कांग्रेस, कहिले नेकपा (एमाले) तथा अन्य दलसँग मिलेर सरकार गठन गर्नु ठूलो राजनीतिक कमजोरी भएको स्वीकार गरे । यही प्रवृत्तिले कार्यकर्तासम्म नकारात्मक सन्देश पुगेको उनको भनाइ थियो ।

‘गल्ती माथिबाटै भयो । नेतृत्व पटक–पटक प्रधानमन्त्री बन्न कहिले कांग्रेस, कहिले एमाले र कहिलेकाहीँ अन्य दलसँग मिल्यो । त्यसको असर तलसम्म पुग्यो,’ उनले भने ।

उनले विगतमा पार्टीभित्र जनअधिकारका लागि प्रतिस्पर्धा हुने गरेको भए पनि पछिल्लो समय पद, सुविधा र आर्थिक स्वार्थका लागि प्रतिस्पर्धा बढेको स्वीकार गरे । नेतृत्व स्वयं त्यसबाट मुक्त हुन नसक्दा अवसरवाद र व्यक्तिवाद संस्थागत बन्दै गएको उनको विश्लेषण थियो ।

प्रचण्डले समाजवादको नारा दिए पनि व्यवहारमा पार्टीभित्र पुँजीवादी सोच, व्यक्तिवाद र स्वार्थ केन्द्रमा पुगेको स्वीकार गर्दै त्यसले जनतामा पार्टीप्रतिको विश्वास कमजोर बनाएको बताए ।

उनले जनताले कम्युनिस्ट पार्टीबाट वैकल्पिक राजनीति र परिवर्तनको अपेक्षा गरेको भए पनि व्यवहारमा कांग्रेस र एमालेभन्दा पनि सत्ता, पद र पैसाका लागि जे पनि गर्न तयार दलका रूपमा आफूहरूलाई हेर्न थालेको भन्दै आत्मसमीक्षा गरे ।

उनको भनाइलाई पार्टीको पछिल्लो राजनीतिक समीक्षा र आगामी दिशा तय गर्ने सन्दर्भमा महत्वपूर्ण स्वीकारोक्तिका रूपमा हेरिएको छ ।

Scroll to Top