पोखरा ।
एम्नेष्टि इन्टरनेशनल नेपाल शिक्षक तथा सामाजिक कार्यकर्ता समूह ८२ पोखराले मानव रक्षा र अधिकारमा विश्वभर सकारात्मक सन्देश प्रवाह गरेको बताएको छ । समूहको २९ औं वार्षिकोत्सव तथा १५ औं अधिवेशनको उद्घाटन सत्रमा नेपाल शाखाकी केन्द्रीय सदस्य मीना थापाले एम्नेष्टिकर्मीको एकतामा जोड दिँदै नेतृत्व गर्दा इच्छाशक्ति बढाउँदै समयको पालना गर्न आग्रह गरिन् ।
कास्की संयोजक नरेशप्रसाद बरालको अध्यक्षतमा भएको कार्यक्रममा एम्नेष्टि समूह ५४ को सचिव ज्योति हमालले काम गरेर देखाउने योजनामा रहेको बताउँदै समूह ८२ संग हातेमालो गर्ने बताइन् । कास्की सचिव हरिप्रसाद शर्माले सञ्चालन गरेको सभामा समूहलाई स्थापनाकालदेखि निरन्तर सहयोग गर्ने हेरम्वप्रसाद कोइराला, विपपश्वश्वर पराजुली, जनकला श्रेष्ठ, लोकराज पहारीलाई सम्मान गरेको थियो । समूहले लेखाका बुद्धिराज बराल र कार्यालय सचिव अनिता देवकोटालाई सम्मान गरेको थियो ।

कार्यक्रममा पूर्व संम्योजक रमेशप्रसाद बरालले विश्वव्यापी रुपमा समूह ८२ खरोरुपमा उत्रिएको बताउँदै मानव जीवनको रक्षा, सुरक्षा र जीवन प्रदान गर्दै आएको स्मरण गरे । मानव जीवनको रक्षा गर्न विश्वभर एम्नेष्टिले पुर्याएको योगदानलाई कदर गर्दै बरालले संस्थाको गरिमालाई उच्च राख्न नेतृत्वले सकारात्मक भूमिका खेल्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा संस्थापक संयोजक हेरम्बप्रसाद कोइरालाले प्रारम्भिक समयमा भएको आरोह अवरोहको चर्चा गर्दै मानव अधिकारको रक्षा गर्न सक्ने क्षमता मनबाट पैदा गर्नु पर्नेमा जोड दिए ।
अधिवेशनबाट कास्की संयोजकमा दुर्गाराज बराल चयन भएका छन् । सहसंयोजकमा राजेश बुढामगर, सचिव सुमना सुवेदी, सहसचिवमा कृष्ण कुमारी सुवेदी, कोषाध्यक्षमा रमेश परियार निर्वाचित भएका छन् । एम्नेष्टि समुह ८२ को सदस्यमा लक्ष्मण पहारी, गंगाबहादुर पुन, अनिता देवकोटा र अन्जु पराजुली सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ ।







