पीएल सिंह क्रिकेटः पोखरा र काठमाण्डौंबीच उपाधि होड, शनिबार फाइनल

पोखरा र काठमाडौं महानगरपालिका पीएल सिंह मेमोरियल टी २० कप क्रिकेटका फाइनलमा प्रवेश गरेका छन् । लगतार चार खेल जितेपछि पोखराले राउन्ड रोबिन लिगको एक खेल अगावै फाइनलमा स्थान पक्का गरेको हो ।

पोखराले बिहीबार ललितपुर महानगरपालिकामाथि ७ विकेटको जित निकाल्यो । टस जितेर ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६६ रन बनायो ।

आदिल खानले ४८ बलमा ८३ रनको विस्फोटक इनिङ्स खेल्नेक्रममा २ चौका र ८ छक्का प्रहार गरे । रोशन विक ३२ र विपिन आचार्य १५ रनमा आउट भए भने आशुतोष घिरैया १३ र सचिन लेखक १२ रनमा आउट भए । पोखराका अपराजित पौडेलले २ विकेट लिए ।

उत्कृष्ट फर्ममा रहेका अर्जुन कुमालले ४६ बलमा ६३ रन बनाएपछि पोखराले १७.२ ओभरमै लक्ष्य पुरा गर्यो । उनले ९ चौका र १ छक्का प्रहार गरे । प्लेयर अफ द म्याचमा भने दीपक डुम्रे चुनिए । उनले २६ बल खेली ३ चौका र ६ छक्का प्रहार गरी ५६ रन बनाए । ललितपुरका विधान खतिवडा, सूर्य तामाङ र गणेश गौतमले १–१ विकेट लिए ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा भएको दोस्रो खेलमा काठमाडौंले विराटनगर महानगरपालिकालाई ३ विकेटले पराजित गर्‍यो । काठमाडौंले ५ खेलमा चौथो विजय हात पार्दै पोखरासँग शनिबार हुने फाइनल निश्चित गरेको हो ।

टस हारेर ब्याटिङमा आएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४२ रन बनायो, जसमा सुजन थपलियाले ३९ र दीपक पासवानले अविजित २९ रन जोडे ।

Exit mobile version