अमेरिकी स्वास्थ्य सेवा प्रणाली ‘मेडिकेयर’ बाट ३.७ अर्ब डलर ठगी गरेको आरोप लागेका व्यवसायी इब्राहिम खाल्दुन हिलमी पक्राउ परेका छन् । एक वर्षभन्दा बढी समयदेखि फरार रहेका उनलाई टर्किएमा पक्राउ गरी अमेरिका फिर्ता ल्याइएको संघीय जाँच ब्युरो (एफबीआई) ले जानकारी दिएको छ ।
एफबीआईका निर्देशक कास पटेलले यसलाई अमेरिकी इतिहासकै सबैभन्दा ठूलो स्वास्थ्य सेवा घोटाला अनुसन्धानमध्ये एक बताए । मेडिकेयर ६५ वर्ष वा सोभन्दा माथिका र अपांगता भएका युवाहरूका लागि सञ्चालित अमेरिकी स्वास्थ्य बिमा कार्यक्रम हो ।
फ्लोरिडाको डेलरे बिचमा बस्दै आएका अमेरिकी व्यवसायी हिलमीले कागजमा वैध देखिने स्वास्थ्य सेवा आपूर्तिकर्ता कम्पनीहरू चलाएका थिए । फ्लोरिडाको स्टेट डिपार्टमेन्टका अनुसार उनले ‘सनसाइन सिनियर सोलुसन्स’ लगायतका कम्पनीमार्फत वृद्ध बिरामीहरूका लागि स्वास्थ्य उपकरण उपलब्ध गराएको भन्दै मेडिकेयरमा बिल पठाउने गरेका थिए । सरकारी वकिलहरूका अनुसार ती कम्पनीहरू करदाताको पैसा लुट्न खडा गरिएका माध्यम मात्र थिए ।
हिलमीमाथि ३.७ अर्ब डलर सरकारी रकम चोरी गर्न ठगी गरेको आरोप छ । उनको नेटवर्कले ‘सनसाइन सिनियर सोलुसन्स’ सहित धेरै वैध अमेरिकी कम्पनीहरू खरिद गरी तिनलाई ‘फ्रन्ट’ का रूपमा प्रयोग गरेका थिए । उनीहरूले घुँडाको ब्रास, नाडीको सपोर्ट, घाउ सफा गर्ने कुसन र क्याथेटरजस्ता उपकरणका लागि नक्कली दाबी पेस गर्ने गर्थे । अनुसन्धानका क्रममा धेरैजसो बिरामीले सामानको अर्डर नै नगरेको, सामान प्राप्त नगरेको वा ती बिरामीको अस्तित्व नै नभएको पाइएको छ ।
हिलमीको नेटवर्कले दशकौंदेखि दर्जनौं वैध देखिने कम्पनीमार्फत दाबी पेस गर्ने गरेकाले मेडिकेयरको नियमन प्रणालीले उनीहरूलाई शंकाको घेरामा राख्न सकेको थिएन । वास्तविक व्यवसायको नाम, उपकरणको श्रेणी र वास्तविक सुनिने बिरामीको विवरण प्रयोग गरेर उनले ठगीलाई वैधताको आवरण दिएका थिए । संघीय अनुसन्धानकर्ताहरू उनीसम्म पुग्नै लाग्दा मे २०२५ मा उनी अमेरिकाबाट भागेका थिए ।
टर्किएका अधिकारीहरूको सहयोगमा पक्राउ परेका हिलमीलाई एफबीआईको ‘क्रिटिकल इन्सिडेन्ट रेस्पोन्स ग्रुप’ ले औपचारिक प्रक्रियामार्फत अमेरिका ल्याएको हो । उनलाई निजी विमानमार्फत अमेरिका ल्याइँदा एफबीआई एजेन्टहरूले घेरेका थिए । निर्देशक पटेलले टर्किएका अधिकारीहरू र त्यहाँका लागि अमेरिकी राजदूत टम ब्याराकको कूटनीतिक पहलले यो पक्राउ सम्भव भएको बताए ।
हिलमीको पक्राउ पर्नुभन्दा एक हप्ताअघि मात्र एफबीआईले १.३ अर्ब डलर ठगीका आरोपी हर्बर्ट किमबललाई पनि पक्राउ गरेको थियो । यी दुई मुद्दाले मात्रै अमेरिकी करदाताको करिब ५ अर्ब डलर ठगी भएको देखाउँछ । यो कारबाही ‘अपरेसन गोल्ड रस’ को एउटा हिस्सा हो, जसले मेडिकेयर कार्यक्रमको दुरुपयोग गर्ने अन्तर्राष्ट्रिय संगठित अपराध नेटवर्कलाई निशाना बनाएको छ ।
निर्देशक पटेलले भने, ‘अमेरिकी करदाताको पैसा चोर्ने जुनसुकै अपराधीलाई जहाँ लुके पनि समातिने छ ।’ हिलमीलाई अब मेडिकेयर ठगीको मुद्दामा संघीय अदालतमा उपस्थित गराइने छ । अमेरिकामा मेडिकेयर ठगीमा दोषी ठहरिनेलाई जरिवानादेखि धेरै वर्षको जेल सजायसम्म हुने कानुनी व्यवस्था छ ।
स्रोतः अल जजीराको अंग्रेजी संस्करण।







