फेवातालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका युवकको शव फेला परेको छ ।
सशस्त्र प्रहरीको गोताखोर टोलीले मंगलबार राति करिब ९ः१० बजे शव फेला पारेको हो । मृतक पोखरा महानगरपालिका १५ रामबजार बस्ने १९ वर्षीय अमर थापा क्षेत्री हुन् ।
उनी साँझ ७ बजेतिर पोखरा ६ स्थित फेवातालमा पौडी खेल्ने क्रममा डुबेका थिए । त्यसपछि खोजीमा जुटेको सशस्त्रले २ घण्टा बढी खोजेपछि उनलाई मृत भेटेको हो ।
घटनाको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट गोताखोर सहितको टोली परिचालन भयो ।
टोलीले तालमा खोजी गर्ने क्रममा करिब २५ फिट गहिराइबाट अमरको शव बाहिर निकालेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले यसबारे जानकारी दिए ।







