एमालेका ‘हेभिवेट’: जो ८ पटक मन्त्री बनेका थिए, ५ पटक सांसद

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि पौडेल पक्राउ परेका हुन् ।

पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउ गरेको हो । उनको सम्पत्ति र उनले गरेको सेयर कारोबारका बारेमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको जनाइएको छ ।

सुर्खेतमा आयोजित कार्यक्रमस्थलबाटै पक्राउ परेका पौडेललाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ ।

पौडेल ३१ असार २०८१ मा आठौं पटक मन्त्री बनेका थिए । पाँच पटक अर्थ मन्त्रालय सम्हालेका पौडेल एमालेबाट पटक–पटक मन्त्री बन्ने एमाले नेतामा पर्छन् । पहिलो पटक ०७२ कात्तिक र दोस्रो पटक ०७७ असोजमा उनी अर्थमन्त्री बनेका थिए ।

यस्तै, तेस्रो पटक ०७८ जेठमा, चौथो पटक ०७९ पुसमा उपप्रधानसहित अर्थमन्त्री बनेका पौडेल पछिल्लो पटक असार २०८१ मा अर्थमन्त्री बनेका हुन् । पौडेल पहिलो पटक ०५३ चैत १२ देखि ०५४ असोज १० सम्म युवा, खेलकुद तथा संस्कृतिमन्त्री बनेका थिए ।

०६५ भदौ ५ देखि ०६६ जेठ ७ सम्म उनी दोस्रो पटक मन्त्री बन्दै जलस्रोत मन्त्रालय सम्हाले । त्यतिबेला पुष्पकमल दाहाल पहिलो पटक प्रधानमन्त्री बनेका थिए । त्यसैगरी झलनाथ खनालको नेतृत्वमा २०६७ सालमा बनेको मन्त्रिपरिषद्मा पौडेल रक्षामन्त्री थिए ।

त्यतिबेला पौडेलले ०६७ चैत ३ देखि ०६८ भदौ ११ सम्म रक्षा मन्त्रालय सम्हालेका थिए । त्यसपछि थप पाँच पटक मन्त्री बनेका पौडेलले हरेक पटक अर्थ मन्त्रालय मात्रै सम्हाले ।

सत्ता समीकरण निर्माण गर्न चलाख मानिने पौडेल केपी शर्मा ओली प्रधानमन्त्री बन्दा होस् वा गठबन्धन सरकारमा होस् मन्त्री बन्ने अवसर पाइरहे । पौडेल एमालेको तीन वर्षअघि भएको महाधिवेशनबाट उपाध्यक्ष बनेका हुन् ।

सुरुमा पाल्पाबाट निर्वाचित भएका पौडेल त्यसपछि रूपन्देहीबाट निर्वाचित हुँदै आएका थिए । २०३७ सालमा ३ वर्ष जेल र ३ हजार रुपैयाँ जरिवानाको सजाय पाएका पौडेलले ४५ दिनमा जेल विद्रोह गरेका थिए ।

पौडेलको पक्राउप्रति एमालेले विज्ञप्ति निकालेर विरोध जनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले विज्ञप्ति जारी गर्दै ‘पौडेललाई पार्टीको सांगठनिक कार्यक्रमका सिलसिलामा सुर्खेतमा रहेका बेला सरकारले गैरकानुनी ढंगले अपहरणको शैलीमा गिरफ्तार गरेकोप्रति निन्दा र भर्त्सना‘ गरेको छ ।

‘नेकपा (एमाले) सदैव कानुनी राज्य, सुशासन र विधिको शासनको पक्षमा दृढतापूर्वक उभिँदै आएको छ । वर्तमान सत्तापक्षले विपक्षी दलहरूप्रति अख्तियार गरिरहेको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको यो अर्को पराकाष्ठा हो,’ विज्ञप्तिमा भनिएको छ, ‘यो दमनकारी कदम म र हाम्रो पार्टी नेकपा (एमाले)माथि लगातार भइरहेका शृंखलाबद्ध प्रहार र राजनीतिक षड्यन्त्रको निरन्तरता हो भन्ने कुरा स्पष्ट छ ।’

सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ पर्ने पौडेल कुनै पनि दलका पहिलो उच्च नेता हुन् ।

सरकारले तीन जना पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवामाथि पनि सम्पत्ति शुद्धीकरणमा अुनसन्धान गरिरहेको छ । त्यस्तै देउवा पत्नी आरजुमाथि पनि अनुसन्धान भइरहेको छ ।

पौडेल जेनजी आन्दोलनअघि ओली नेतृत्वको सरकारमा अर्थमन्त्री थिए

Scroll to Top