निजामति कर्मचारी अस्पतालको सेवा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)मा अबदेखि निजामती कर्मचारी र उनीहरूका परिवारले विशेष सहुलियत पाउने भएका छन् ।

निजामती कर्मचारी अस्पतालले उपलब्ध गराउने सेवा र सहुलियत अब पोखराबाटै दिने गरी सेवा विस्तार सम्झौता भएको हो ।

अस्पताल प्रशासनले दिएको जानकारी अनुसार निजामती कर्मचारी र उनीहरूका आश्रित परिवारले यो सुविधा पाउने छन् । सम्झौता बमोजिम निजामती कर्मचारी अस्पतालले प्रदान गर्दै आएको छुट तथा सहुलियत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट समेत उपलब्ध गराइने अस्पतालले जनाएको छ ।

यो सेवा लिनका लागि कर्मचारीले केही प्रक्रिया भने पूरा गर्नुपर्ने हुन्छ । अस्पतालका अनुसार निजामती कर्मचारी अस्पतालले जारी गरेको ‘उपचार सहुलियत कार्ड’को सक्कल प्रति अनिवार्य देखाउनुपर्नेछ ।

यस्तै, हाल कार्यरत कर्मचारीको हकमा कार्यालयको परिचयपत्र र सेवा निवृत्त कर्मचारीको हकमा ‘पेन्सन पट्टा’को प्रतिलिपि आवश्यक पर्ने विवरणमा उल्लेख छ । यस सम्झौताले काठमाडौं बाहिर रहेका निजामती कर्मचारीलाई उपचारमा राहत पुग्ने निजामति अस्पतालले जनाएको छ ।

Exit mobile version