बेल्जियममा रहेकी पोखराकी प्रज्ञा ब्रुज नगरपालिकाकी नगर परिषद सदस्य निर्वाचित भएकी छिन् ।
२२ वर्षीया तिमिल्सिनाले प्राप्त गरेको यस उचाइँमा बाबु पुर्ण तिमिल्सिनाको राजनीतिक प्रभावलाई पनि लिन सकिन्छ । पुर्ण नेपाल विद्यार्थी संघ, कास्कीका पूर्व सभापति हुन् ।
खहरेमा फजान्ट फार्म हाउस एण्ड रिसोर्टका सञ्चालक रहेका पुर्ण नेपाली जनसम्पर्क समिति बेल्जियमका पूर्व सभापतिसमेत हुन् ।
उनै बुबाका छोरीले बेल्जियमको स्थानीय राजनीतिमा ऐतिहासिक सफलता हासिल गरेकी छन्।
बेल्जियमको ब्रुज नगरपालिकाको नगर परिषद सदस्यमा निर्वाचित हुँदै उनले नेपाली समुदायका लागि नयाँ उदाहरण प्रस्तुत गरेकी हुन्।

बेल्जियममा ६-६ वर्षमा चुनाव हुन्छ। उनी सन् २०२४ अक्टोबरमा भएको निर्वाचनमार्फत सिडी एन्ड भी पार्टीबाट उक्त पदमा निर्वाचित भएकी हुन्।
ब्रुज नगर परिषदमा निर्वाचित हुने आफू पहिलो नेपाली युवा भएको उनी बताउँछिन्।
फ्यामिली भिसामार्फत सन् २०११ मा बेल्जियम पुगेकी प्रज्ञाले कक्षा ३ सम्मको अध्ययन नेपालमा गरेकी थिइन् भने त्यसपछिको शैक्षिक यात्रा बेल्जियममै पूरा गरिन्।
हाल उनी युनिभर्सिटी अफ गेन्टमा बायोमेडिकल साइन्स विषयमा स्नातक दोस्रो वर्ष अध्ययनरत छिन्। पढाइसँगै राजनीतिक जिम्मेवारी सम्हालिरहेकी प्रज्ञाले नगरको नीति, योजना र विकाससम्बन्धी निर्णय प्रक्रियामा सक्रिय भूमिका निर्वाह गरिरहेकी छन्।
स्थानीय समुदाय र नेपाली समाजको आग्रहपछि राजनीतिमा प्रवेश गरेकी उनले सानै उमेरमा जनप्रतिनिधिको जिम्मेवारी वहन गर्दै परिपक्वता, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेकी छन्।
अध्ययन र सार्वजनिक जिम्मेवारीलाई सन्तुलन गर्दै अघि बढिरहेकी प्रज्ञाको लक्ष्य भविष्यमा उच्च शिक्षा पूरा गरी राजनीतिमा अझ प्रभावकारी भूमिका खेल्ने रहेको छ।
नगर परिषद सदस्यको मुख्य काम स्थानीय तहका नीति, योजना र विकास सम्बन्धी निर्णय प्रक्रियामा सहभागी भई नगरको सेवा–सुविधा र विकास व्यवस्थापनमा भूमिका निर्वाह गर्नु हो।
प्रज्ञाले स्कुल पढ्ने बेलादेखि नै राजनीतिमा रूचि रहेको बताएकी छिन् ।







