स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न परिषद्हरू, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र स्वास्थ्य बीमा बोर्डका रिक्त पदाधिकारी पदका लागि आवेदन माग गरेको छ ।
मन्त्रालयले असार २ गते एक सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट आवेदन आह्वान गरेको छ ।
यसअघि मन्त्रालयले असार २ गतेको प्रेस विज्ञप्तिमा उल्लेख गरे अनुसारका संस्थाहरूमा रिक्त रहेका पद पूर्ति गर्न यो प्रक्रिया अघि बढाइएको हो ।
इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, सिंहदरबारको नीति, योजना तथा अनुगमन महाशाखामा वा मन्त्रालयको वेबसाइटमा रहेको ‘लिंक’ मा गई आवेदन पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।
मन्त्रालयले तपसिलका संस्थाहरूमा निम्न बमोजिमका पदाधिकारी माग गरेको छ:
१. नेपाल आयुर्वेद चिकित्सा परिषद्: अध्यक्ष-१ र रजिस्ट्रार-१
२. नेपाल स्वास्थ्य अनुसन्धान परिषद्: सदस्य-७ र सदस्य सचिव-१
३. नेपाल नर्सिङ परिषद्: अध्यक्ष-१, उपाध्यक्ष-१ र रजिस्ट्रार-१
४. नेपाल स्वास्थ्य व्यवसायी परिषद्: अध्यक्ष-१ र रजिस्ट्रार-१
५. नेपाल फार्मेसी परिषद्: अध्यक्ष-१ र रजिस्ट्रार-१
६. नेपाल मेडिकल काउन्सिल: अध्यक्ष-१ र रजिस्ट्रार-१
७. शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र: कार्यकारी निर्देशक-१
८. स्वास्थ्य बीमा बोर्ड: अध्यक्ष-१ र कार्यकारी निर्देशक-१
आवेदनका साथ पेश गर्नुपर्ने आवश्यक कागजात र कार्यविधि मन्त्रालयको ‘वेबसाइट’ मा राखिएको जानकारी मन्त्रालयले दिएको छ ।
सम्बन्धित ऐन तथा नियमावलीमा उल्लेख भए बमोजिमको योग्यता पुगेका व्यक्तिहरूले मात्र आवेदन दिन सक्ने सूचनामा जनाइएको छ ।
