पोखरामा ‘खेल सप्ताह’ सुरु, खेल प्रतिभाको खोजीमा सहयोग पुग्ने विश्वास

पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा ‘दोस्रो पोखरा खेलकुद महोत्सव तथा मार्सल आर्ट फेस्टिभल २०८३’ सुरु भएको छ ।

खेलकुद गतिविधिलाई थप व्यवस्थित, समावेशी र प्रतिभामुखी बनाउने उद्देश्यका साथ आयोजित महोत्सव शनिबारदेखि औपचारिक रूपमा सुरु भएको हो ।

महोत्सवको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरे ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले खेलकुदलाई स्वास्थ्य, अनुशासन र व्यक्तित्व विकासको महत्वपूर्ण आधारका रूपमा व्याख्या गरे । विद्यालय तहदेखि नै खेलकुदको विकास र प्रवद्र्धन गर्न सके भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न सकिने उनले बताए ।

महानगरपालिकाले खेल क्षेत्रको विकासका लागि योजनाबद्ध रूपमा कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै उनले चालु आर्थिक वर्षका बाँकी खेल गतिविधिलाई समेट्न महोत्सव आयोजना गरिएको बताए । आगामी वर्ष पनि खेल क्षेत्रलाई विशेष प्राथमिकता दिइने उनको भनाइ थियो ।

पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर गोदारले महोत्सव असार ७ गतेसम्म सञ्चालन हुने जानकारी दिए । उनका अनुसार महोत्सवमा ११ वटा खेल समावेश गरिएका छन् । तीमध्ये दुई वटा राष्ट्रियस्तरका प्रतियोगिता र पाँच वटा ग्रासरुट तहका खेल कार्यक्रम छन् ।

महोत्सवमा समावेशी खेललाई पनि प्राथमिकता दिइएको छ । ह्विलचेयर बास्केटबल, बौद्धिक अपांगता दौड, बोसिया तथा दृष्टिविहीन क्रिकेट प्रतियोगिता महोत्सवका आकर्षक खेलका रूपमा समावेश गरिएको छ ।

कार्यक्रममा खेलकुद विकास समितिका सल्लाहकार तेजबहादुर गुरुङ, समितिका सदस्य पोषणबहादुर थापा लगायतले खेलकुद विकास र समावेशी सहभागिताको महत्वबारे धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन समितिका सदस्य सचिव सुरज अधिकारीले गरेका थिए ।

Scroll to Top