पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भइरहेको दोस्रो पोखरा खेलकुद महोत्सव तथा मार्सल आर्ट फेस्टिभल–२०८३ अन्तर्गत विद्यालयस्तरीय हक्की प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा छात्रतर्फ सेन्ट फ्रान्सिस स्कुल र छात्रातर्फ कालिका माध्यमिक विद्यालयले उपाधि जित्दै उत्कृष्ट प्रदर्शन गरेका छन् ।
पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्डहलमा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीबीच प्रतिस्पर्धात्मक खेल भएको थियो । छात्रतर्फ कालिका मावि दोस्रो तथा शुक्रराज बलभद्र मावि तेस्रो स्थानमा रह्यो । त्यसैगरी छात्रातर्फ न्यु मिलिनियम स्कुल उपविजेता बन्दा शान्ति निकुञ्ज बोर्डिङ स्कुल तेस्रो स्थान हासिल गर्न सफल भयो ।
प्रतियोगिताका विजेता तथा उत्कृष्ट टोलीहरूलाई नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । दुवै विधामा प्रथम हुने टोलीले १० हजार रुपैयाँ, दोस्रो हुने टोलीले ७ हजार रुपैयाँ र तेस्रो हुने टोलीले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।
पोखरा महानगरपालिका खेलकुद विकास समितिका सदस्य–सचिव सुरज अधिकारीका अनुसार प्रतियोगितामा १४ विद्यालयका २६ टोलीको सहभागिता रहेको थियो । सहभागी टोलीमध्ये छात्रतर्फ १४ र छात्रातर्फ १२ टोली रहेका थिए । विद्यालयस्तरमै हक्की खेलको विकास र विद्यार्थीहरूमा खेलप्रति रुचि अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनले बताए ।
गत जेठ ३० गते औपचारिक रूपमा उद्घाटन भएको दोस्रो पोखरा खेलकुद महोत्सव तथा मार्सल आर्ट फेस्टिभल अन्तर्गत समावेश ११ खेलमध्ये अधिकांश प्रतियोगिता सम्पन्न भइसकेका छन् । महोत्सव अन्तर्गत बाँकी रहेको प्रमुख प्रतियोगिता ‘मेयर कप क्रस कन्ट्री साइक्लिङ’ आगामी आइतबार आयोजना हुने पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर गोदारले जानकारी दिए ।
खेल महोत्सवले विद्यालयस्तरदेखि नै खेल प्रतिभाको पहिचान र प्रोत्साहनमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकको विश्वास छ । विभिन्न खेलमार्फत विद्यार्थी तथा युवालाई खेलकुद गतिविधिमा सक्रिय बनाउने लक्ष्यसहित महोत्सव सञ्चालन भइरहेको छ ।







