साताभित्र बसपार्कका संरचना हटाउन जग्गाधनी सहमत

पोखरा बसपार्कको उत्तरी क्षेत्र (पेट्रोल पम्प रहेको लाइन) मा रहेका जग्गाधनीहरू र महानगरपालिकाबीच बसपार्क निर्माणका लागि सहमति भएको छ ।

लामो समयदेखि रोकिँदै आएको बसपार्क निर्माण कार्यलाई अगाडि बढाउन जग्गाधनीहरूले महानगरपालिका विरुद्ध उच्च अदालतमा दायर गरेको रिट निवेदन फिर्ता लिने भएका छन् ।

सहमति अनुसार बसपार्क निर्माण कार्यलाई सहजीकरण गर्न दुवै पक्षले आवश्यक सहयोग गर्नेछन् । यस्तै, भविष्यमा निर्माण हुने संरचनाहरू महानगरपालिकाले तोकेको मापदण्ड बमोजिम निर्माण गर्ने सहमति समेत भएको छ ।

नगर प्रमुख धनराज आचार्यले हाल सञ्चालनमा रहेका सटर तथा कबलहरू आजको मितिले ७ दिनभित्र पूर्ण रूपमा हटाउने सहमति भएको बताए ।

उनले करिब आधा शताब्दीदेखि विभिन्न कारणले रोकिँदै आएको सुविधा सम्पन्न पोखरा बसपार्क निर्माणको मार्गप्रशस्त गर्न सहयोग पुर्‍याउने जग्गाधनी, स्थानीयवासी, सरोकारवाला पक्ष तथा सम्बन्धित सबैलाई कृतज्ञता व्यक्त गरे ।

Exit mobile version