भारतको नयाँ दिल्लीस्थित ऐतिहासिक जन्तरमन्तरमा शनिबार ककरोच जनता पार्टी (सीजेपी)को ब्यानरमा सयौँ विद्यार्थीले प्रदर्शन गरेका छन् ।
विभिन्न परीक्षा तथा सरकारी भर्ना प्रक्रियाहरूमा देखिएका अनियमितताको विरोध र भारतीय शिक्षा प्रणालीमा तत्काल सुधारको माग गर्दै आयोजित यस प्रदर्शनमा प्रसिद्ध शिक्षाविद् तथा अभियन्ता सोनम वाङचुकले पनि ऐक्यबद्धता जनाएका छन् ।
अनलाइन अभियानका रूपमा सुरु भएको यस आन्दोलनलाई सम्बोधन गर्दै वाङचुकले आफूलाई आन्दोलन र प्रदर्शन मन नपर्ने भए पनि न्यायका लागि लडिरहेका विद्यार्थीहरूको पक्षमा उभिन बाध्य भएको बताए ।
उनले दिल्लीमा शान्तिपूर्ण प्रदर्शन गर्न अनुमति दिएकोमा केन्द्रीय सरकारको प्रशंसा गर्दै देशको शिक्षा प्रणालीमा आमूल परिवर्तनको आवश्यकता औँल्याएका छन् ।
सम्बोधनका क्रममा वाङचुकले एउटा महत्त्वपूर्ण र सर्वपक्षीय सुधारको प्रस्ताव अघि सारेका छन् ।
राजनेता र कर्मचारीहरूका छोराछोरीले अनिवार्य रूपमा सरकारी शिक्षण संस्थाहरूमा पढ्नुपर्ने धारणा राख्दै उनले यसो भएमा मात्र सरकारी शिक्षाको स्तर सुध्रिने र प्रणालीमा रहेका व्यक्तिहरूले सर्वसाधारण नागरिकले भोग्नुपरेको समस्या महसुस गर्ने दाबी गरे ।
प्रदर्शनमा सहभागी विद्यार्थीहरूले उनलाई देशको शिक्षामन्त्री बन्न आग्रह गर्दै लगातार नाराबाजी गरे पनि उनले आफ्नो कुनै राजनीतिक महत्वाकांक्षा नरहेको प्रष्ट पारे।







