स्वर्गीय डा. चन्द्रको ‘अन्नपूर्णको स्याहार’ पुस्तक विमोचन

विश्व वातावरण दिवसको अवसरमा पोखराको पृथ्वीनारायण क्याम्पस परिसरमा रहेको अन्नपूर्ण प्राकृतिक ऐतिहासिक संग्रहालय (अन्नपूर्ण पुतली संग्रहालय)मा स्वर्गीय डा. चन्द्रप्रसाद गुरुङको चर्चित कृति ‘केयरिङ फर द अन्नपूर्ण’को नेपाली अनुवाद ‘अन्नपूर्णको स्याहार’ विमोचन गरिएको छ।

यो पुस्तक केवल अन्नपूर्ण संरक्षण क्षेत्रको कथा मात्र नभएर नेपालको संरक्षण आन्दोलन, समुदायको सशक्तीकरण र ग्रामीण रूपान्तरणको जीवित दस्तावेज रहेको कार्यक्रममा बताइएको छ।

अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समन्वय समितिका अध्यक्ष एवं पूर्वसांसद मनबहादुर गुरुङ, मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङ, एक्यापका प्रमुख डा. रविन कडरिया, संरक्षणविद् डम्मरकुमारी गुरुङ र चन्द्र गुरुङ संरक्षण प्रतिष्ठानकी अध्यक्ष शिखा गुरुङ खेतानले संयुक्तरूपमा पुस्तक सार्वजनिक गरे।

करिब चार दशकअघि सुरु भएको ‘अन्नपूर्ण कन्जरभेसन एरिया प्रोजेक्ट’ले संरक्षण र विकासलाई सँगसँगै अघि बढाउन सकिन्छ भन्ने उदाहरण स्थापित गरेको थियो।

प्रकृति, संस्कृति र स्थानीय समुदायलाई केन्द्रमा राखेर अघि बढाइएको यस अभियानले अन्नपूर्ण क्षेत्रका हजारौं मानिसको जीवनमा सकारात्मक परिवर्तन ल्याएको विमोचन समारोहमा जानकारी दिइयो।

सन् २००६ मा घुन्सामा भएको दुःखद हेलिकप्टर दुर्घटनामा डा. चन्द्रप्रसाद गुरुङको असामयिक निधन भए पनि उनले देखाएको संरक्षणको दृष्टिकोण र समुदायप्रतिको समर्पण आज पनि उत्तिकै सान्दर्भिक रहेको वक्ताहरूले बताए।

उनकै अधुरो पाण्डुलिपिलाई सहकर्मीहरूको सहयोगमा पूर्णता दिई प्रकाशित गरिएको यो कृति अहिले नेपाली भाषामा उपलब्ध हुनु आफैंमा एउटा महत्त्वपूर्ण उपलब्धि रहेको बताइएको छ।

Scroll to Top