हिमाली परिवारको भवण निर्माणार्थ टीकाको ५ लाख, थप सहयोग जुट्दै

हिमाली साँस्कृतिक परिवार आफ्नै सांस्कृतिक भवन निर्माण अभियानमा जुटिरहेका बेला समाजसेवी टीकाबहादुर कार्कीले ५ लाख रुपैयाँ सहयोग गरेका छन् ।

कार्की ‘हिमाली साँस्कृतिक परिवार भवन निर्माण समिति’को संयोजकसमेत हुन् ।

वि. सं. २०५४ सालमा ‘नेपाली लोक संस्कृति बचाऔं’ भन्ने नारासहित स्थापना भएको संस्थाले स्थायी पूर्वाधार निर्माणका लागि सहयोग संकलन अभियान सुरु गरेको हो।

पोखरा–९ पृथ्वीचोकमा पोखरा नगर विकास समितिले उपलब्ध गराएको स्थानमा कार्यालय स्थापना गरी सांस्कृतिक गतिविधि सञ्चालन गर्दै आएको हिमाली साँस्कृतिक परिवारले कार्यालय छाड्नुपर्ने अवस्था आएपछि आफ्नै जग्गा खरिद गरी भवन निर्माण गर्ने योजना अघि बढाएको जनाएको छ।

पोखरा महानगरपालिकाको सूचनाअनुसार तोकिएको समयभित्र कार्यालय खाली गरी महानगरलाई सहयोग गरेको संस्थाले हाल आफ्नो कार्यालय तमु धिं नेपाल परिसरमा सञ्चालन गरिरहेको छ।

समितिले पोखरामा करिब दुई रोपनी जग्गा व्यवस्थापन गरी कार्यालय, सभाहल, संग्रहालय तथा पार्किङसहितको सुविधासम्पन्न सांस्कृतिक भवन निर्माण गर्ने लक्ष्य लिएको छ।

यसका लागि स्वदेश तथा विदेशमा रहेका शुभेच्छुक तथा संस्थाप्रेमीहरूबाट सहयोग जुटाइने संयोजक कार्कीले जानकारी दिए ।

यसैबीच भवन निर्माण अभियानका लागि संस्थाका सल्लाहकार, पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति, लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष, गायक तथा साहित्यकार पद्मराज ढकालले रु. १ लाख २५ हजार ७८९ आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।

सहयोग हस्तान्तरण गर्दै ढकालले नेपाली लोकसंस्कृतिको संरक्षणमा हिमाली साँस्कृतिक परिवारले पुर्‍याएको योगदान उल्लेखनीय रहेको बताए ।

संस्थाका पूर्वअध्यक्ष स्वर्गीय मेनकाजी गुरुङसँगको सहकार्य र आफू पनि लोकसंस्कृतिको क्षेत्रमा सक्रिय रहेकाले हिमालीप्रति विशेष आत्मीयता रहेको उल्लेख गर्दै उनले भवन निर्माण अभियानमा सबैको साथ र सहयोग आवश्यक रहेको धारणा राखे ।

यसैगरी, परिवारका सल्लाहकार सुबेदार मेजर जसबहादुर गुरुङले रु. १ लाख तथा सल्लाहकार बुद्धिमान दुरा धम्पुले रु. ७० हजार २०० सहयोग गर्ने घोषणा गरेका छन् ।

साथै कार्यालय व्यवस्थापनका लागि सल्लाहकार चिजा गुरुङले रु। १८ हजार, सल्लाहकार अशोक पालिखेले छ महिनाका लागि रु। ३६ हजार सहयोग गर्ने घोषणा गरेको परिवारका सचिव डबिन गुरुङले जानकारी दिए ।

Exit mobile version