तेस्रो खुला डुंगा दौड प्रतियोगिता सम्पन्न, मत्स्य सहकारी र पहारीघाट विजेता

पोखरा । फेवा डुंगा व्यवसायी संगठनको आयोजना तथा नेपाल पर्यटन बोर्ड, गण्डकीको प्रवद्र्धनमा पोखराको फेवातालमा तेश्रो संस्करणको पुरुष तथा महिला खुला डुंगा दौड प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा पुरुषतर्फ कुमार जलारी, गणेश जलारी र कृष्ण जलरी सम्मिलित हर्पन मत्स्य सहकारी संस्था प्रथम, टेकबहादुर जलारी, राजु जलारी र राजेन्द्र जलारी सम्मिलित हर्पन मत्स्य सहकारी संस्थाकै अर्को टोलीले दोस्रो, कपिल चौधरी, सुन्दर आले र सुदर्शन सम्मिलित बाराहीघाट समूहले तेस्रो तथा विशाल श्रेष्ठ, चित्र मगर र चन्द्र माझी सम्मिलित समूहले सान्त्वना स्थान हासिल गर्यो ।

महिलातर्फ सोनी गुरुङ, दिलसुब्बा गुरुङ र सीता श्रेष्ठ सम्मिलित पहारीघाटले प्रथम, उषा गुरुङ, निर्मला गुरुङ र अस्मिता मगर सम्मिलित तालपारीले दोस्रो, अन्जना जलारी, चन्द्रमाया जलारी र पञ्चमाया जलारी सम्मिलित जलारी दिदीबहिनी समूहले तेस्रो, तथा कृष्णकुमारी कँडेल, पूर्णकला हिमाली र सीता हिमाली सम्मिलित टोलीले सान्त्वना स्थान हासिल गरेको थियो ।

प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ प्रथमले ३० हजार, द्वितीयले २० हजार, तृतीयले १० हजार तथा सान्त्वनाले ५ हजार सहित ट्रफि,प्रमाणपत्र पुरस्कार प्राप्त गरे ।

विजयी खेलाडीहरुलाई आयोजक समितिका अध्यक्ष बलराम गिरी, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, खेलकुद संयोजक बत्ति गुरुङ, आर्थिक समितिका संयोजक बुद्धिनाथ पाण्डे लगायतले पुरस्कार वितरण गरे ।

Exit mobile version