फेवातालबाट २ बालकको उद्धार, कायाक कम्पनीलाई पुनः चेतावनी

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको संयोजकत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले फेवातालमा सञ्चालनमा रहेका जलपर्यटनसम्बद्ध व्यवसायहरू (कायाकिङ्ग र सर्फिङ्ग) को अनुगमन गरेका छन्।

अनुगमनका क्रममा डुब्न लागेका १४ वर्ष र ११ वर्ष उमेरका दुई बालकको समयमै उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

अनुगमनका क्रममा अधिकांश सञ्चालकहरूले आवश्यक सुरक्षा मापदण्डको पूर्ण पालना नगरेको पाइएको छ। साना उमेरका बालबालिकालाई एक्लै जल गतिविधिमा सहभागी गराइएको, कतिपयले लाइफ ज्याकेट प्रयोग नगरेको, उद्धार (रेस्क्यू) का लागि पर्याप्त तयारी नगरेको तथा व्यवसाय दर्ता नगरी सञ्चालन गरिएको भेटिएको छ।

त्यसैगरी, फेवातालका जोखिमयुक्त क्षेत्रमा डुंगा तथा अन्य जलयात्रा साधन सञ्चालन गरिएको र समग्र रूपमा सुरक्षा सतर्कता कमजोर रहेको पाइएको छ।

टोलीले राति अबेरसम्म पनि व्यवसाय सञ्चालन भइरहेको पाएको जनाएको छ। यसअघि पनि जिल्ला प्रशासन कार्यालयको संयोजनमा सरोकारवाला निकायहरूको संयुक्त टोलीले अनुगमन गरी कारबाही तथा सुधारका लागि निर्देशन दिएको थियो।

हाल मनसुनको प्रभाव बढ्दै गएको र दैनिक रूपमा डुबान तथा डुबेर हुने घटनाबाट धनजनको क्षति भइरहेको सन्दर्भमा प्रशासनले प्रचलित कानुन तथा सुरक्षा मापदण्डको पूर्ण पालना गरी व्यवसाय सञ्चालन गर्न सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएको छ।

जिल्ला प्रशासन कार्यालयले लापरबाही जारी रहेमा कानुन बमोजिम कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ।

Exit mobile version