पर्यटक भिसामा नेपाल प्रवेश गरेका दुई जना चिनियाँ नागरिकलाई अवैध रूपमा व्यापारिक गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले शुक्रबार जारी गरेको सूचनाअनुसार देवचुली नगरपालिका–१३ क्षेत्रमा खटिएको प्रहरी टोलीले उनीहरूलाई जाडोमा प्रयोग हुने ज्याकेट बिक्री–वितरण गरिरहेको अवस्थामा पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा चीनका नागरिक चेन जिनिकियन र यी लिहुआ रहेका छन्। उनीहरू पर्यटक भिसामा नेपाल आएका भए पनि आवश्यक अनुमति तथा बिल–बिजकबिना व्यापारिक गतिविधि सञ्चालन गरिरहेको पाइएको प्रहरीले जनाएको छ।
कारबाहीका क्रममा प्रहरीले उनीहरूको साथबाट जाडोमा प्रयोग हुने ४३ थान ज्याकेट बरामद गरेको जनाएको छ। बरामद सामग्रीसमेत नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको छ।
प्रहरीले विदेशी नागरिकले पर्यटक भिसाको दुरुपयोग गर्दै व्यापारिक गतिविधि सञ्चालन गरेको आशंकामा उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि दुवै जनालाई अध्यागमन विभाग पठाइएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले नेपालमा बसोबास गर्ने वा भ्रमणमा आउने विदेशी नागरिकहरूले भिसाको उद्देश्यअनुसार मात्र गतिविधि सञ्चालन गर्नुपर्ने तथा कानुनविपरीत कार्य गरेमा कारबाही हुने चेतावनीसमेत दिएको छ।







