‘हिमताल फुट्दैछन्, हिमालको सुरक्षा विश्व समुदायकै दायित्व हो’ – पर्यटनमन्त्री पौडेल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले हिमालको सुरक्षा पुरै विश्व समुदायको दायित्व भएको धारणा राखेका छन् ।

पर्यटन विभाग र नेपाल पर्यटन बोर्डको कार्यक्रममा उनले जलवायु परिवर्तनको असरले बढ्दोरुपमा हिउँ पग्लिँदै जाँदा हिमताल नै जोखिम पर्न गई तटीय क्षेत्रका बस्ती र खानेपानीका मुहानमा प्रत्यक्ष असर परिरहेको बताए । उनले भने ‘हिमालको सुरक्षा गर्नु नेपालको मात्र नभई सम्पूर्ण विश्वकै समुदायकै दायित्व भएको बताए।’

मन्त्री पौडेलले भने, ‘संसारका सबै धर्ममा हिमाल र यात्राको ठूलो महत्त्व रहेको छ । हिमाल आरोहण गर्नु भनेको आफ्नै श्वासप्रश्वास गन्नु र ध्यान मग्न हुनु पनि हो ।’

कीर्तिमानी आरोही कामीरिता शेर्पा, लाक्पा शेर्पा र मिङ्मा शेर्पालगायतका साहसिक कदमको प्रशंसा गर्दै उनले भने ‘कामीरिताको सगरमाथा आरोहणको रेकर्ड सम्पूर्ण मानवताकै लागि गौरवको विषय हो ।’

नेपालको पर्यटन र समृद्धिको मुख्य आधार हिमाल भएकाले यसको संरक्षण र सम्वद्र्धन गरेर मात्रै राष्ट्रिय स्वाभिमान र आर्थिक विकास सम्भव हुने मन्त्री पौडेलले बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले पर्यटनसम्बन्धी ऐनको समयानुकूल परिमार्जनले पर्वतारोहण क्षेत्रका धेरै समस्याहरू समाधान हुने विश्वास व्यक्त गरे ।

पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले नेपालका हिमाल अरोहणमा विदेशीको मोह बढ्दै गएपछि उनीहरूको समन्वय र सहजीकरणमा विशेष ध्यान दिइएको बताए।

हाल नेपालको पर्वतीय पर्यटन खुम्बु, अन्नपूर्ण र कञ्चनजङ्गा क्षेत्रमा मात्र केन्द्रित रहेकाले आगामी दिनमा कर्णाली र सुदूरपश्चिम क्षेत्रमा समेत विकास र विस्तार गरिने उनले जानकारी दिए।

यस वर्ष सगरमाथा आरोहणका लागि मात्र ४९६ जनाले अनुमति लिएकामा त्यसबाट राज्यले राजस्व मात्र प्राप्त गरेको नभई देशको अर्थतन्त्र, कूटनीति र सामाजिक विकासमा योगदान पुर्‍याइरहेको बताए।

नेपाल पर्वतारोहण संघ (एनएमए)का अध्यक्ष फुर ग्याल्जे शेर्पाले देशको पहिचान र नीतिकारुपमा रहेका हिमालको संरक्षण गर्ने दायित्व हामी सबैको भएको बताए । ।

आरोहीलाई सम्मान

कार्यक्रममा विश्वको सर्वोच्च शिखरसहित विभिन्न हिमालको आरोहण गरी विश्व कीर्तिमान राख्ने आरोहीलाई सम्मान गरियो ।

त्यसअवसरमा रु एक लाख राशिको अन्तरराष्ट्रिय सगरमाथा आरोहण पुरस्कार ३१ पटक सगरमाथाको सफल आरोहण गर्ने आरोही पासाङ दावा शेर्पालाई तथा रु ५० हजार राशिको तेञ्जन हिलारी पुरस्कार हेलिकप्टर पाइलट प्रिया अधिकारीलाई प्रदान गरियो ।

आरोही तेञ्जीङ डेभिड शेर्पालाई रु ५० हजार राशिको तेञ्जिङ हिलारी कीर्तिमानी पुरस्कार प्रदान गरिएको छ ।

एकै मनसुनमा तीन पटक सगरमाथा आरोहण गरी कीर्तिमान राख्ने आरोही पूर्णिमा श्रेष्ठलाई रु ५० हजार नगदसहित सम्मान गरियो । हिमालको अध्ययन र अनुसन्धान गर्ने प्राडा विशाल अधिकारीलाई रु ५० हजार नगदसहित सम्मान गरिएको छ ।

‘सगरमाथास् नेपालको पहिचान र गौरव’ भन्ने नाराका साथ आज मे २९ मा देश तथा विदेशमा ७३ औँ अन्तरराष्ट्रिय सगरमाथा दिवस मनाइँदैछ ।

सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको ऐतिहासिक दिनको स्मरणमा यो दिवस मनाइँदै आइएको हो ।

Scroll to Top