पोखरा बसपार्कको १ सय ८७ रोपनी जमिनको हिसाब-किताब १५ दिनमा निकालिने

पोखरा महानगरपालिका वडा नम्बर ९ स्थित पोखरा बसपार्क निर्माणका लागि विसं २०३० सालमा अधिग्रहण गरिएको जग्गाको सट्टापट्टा, बिक्री–वितरण तथा क्षतिपूर्ति वितरण प्रक्रियाबारे सत्य तथ्य छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ ।

नगर प्रमुख धनराज आचार्यका अनुसार बसपार्क निर्माणका लागि अधिग्रहण गरिएको १९६ रोपनी जग्गामध्ये राजमार्ग विस्तारमा परेको करिब ९ रोपनी कटाउँदा बाँकी रहेको १८७ रोपनी जग्गासम्बन्धी विभिन्न गुनासा, लिखित उजुरी तथा प्रश्न उठेपछि समिति गठन गरिएको हो ।

उनले केही व्यक्तिले नपाउनुपर्ने क्षतिपूर्ति पाएको, वितरण प्रक्रियामा असमानता भएको लगायत विषयमा सत्य तथ्य छानबिन गरी न्यायिक निरूपण गर्न समिति गठन गरिएको बताए ।

समितिको अध्यक्षमा पूर्व न्यायाधीश शंकरराज बराल रहेका छन् । सदस्यमा पूर्व जिल्ला न्यायाधिवक्ता गोविन्द गिरी र सदस्य सचिवमा पोखरा उपत्यका नगर विकास समितिका कार्यालय प्रमुख प्रकाश सुवेदी रहेका छन् ।

समितिलाई विगत ५१ वर्षदेखि विभिन्न चरणमा भएका निर्णय, सट्टापट्टा, वितरण प्रक्रिया तथा सम्बन्धित कागजातहरूको अध्ययन, विश्लेषण र सत्य तथ्य परीक्षण गरी न्यायिक दृष्टिकोणबाट आवश्यक प्रतिवेदन तयार गरेर पेस गर्न १५ दिनको समयसीमा दिइएको छ ।

नगर प्रमुख आचार्यले समितिले समयमै सत्य तथ्य उजागर गर्दै पोखरा बसपार्कको जग्गासम्बन्धी देखिएका, सुनिएका तथा उठाइएका सबै विषयको यथार्थ चित्रण प्रस्तुत गर्ने विश्वास लिइएको बताए ।

उनले पोखरा बसपार्क सधैं विवाद र चर्चाको विषय मात्र नभई सबै मिलेर व्यवस्थित, आधुनिक र सुविधासम्पन्न बसपार्क निर्माणमा हातेमालो गर्न आग्रह पनि गरे ।

Scroll to Top